आए एक जोडी जुरेली
बसे रमाए मेरो आँगनमा
प्रेम दर्शाए, अलि घुक्र्याए
प्रेमले नै एक आपसमा ।
ठुस्स परेर भाले उड्यो
पोथीले पनि मुन्टो घुमाइ
एकछिनमा भाले आयो
पोथीले प्रेम बर्साई
माया साटासाट भयो
मीठो आलाप भयो
फुर्र उडेर भाले गयो
पोथीको विरह चल्यो ।
पोथी उडेर पछ्याई
छोड्दिन भनेर हक जताइ
फेरि दुबै सँगै आए
एकआपसमा बहुत रमाए ।
बन्दाबन्दीले मान्छे खुम्च्यो
प्राणी सबले ठाउँ पाए
तेरो मेरो केही नहुनेले
खुल्ला रुपमा बिचरित भए ।

बर्चस्व खातिर सँग्रह सुरक्षा
के यही हो मानव अभिष्ट ?
जुरेली जस्तै स्वतन्त्र हुन
रोक्छ किन हाम्रो अभिष्ट ?
अस्तित्व सबको एक समान
श्रृष्टिकर्ताको नजरमा
आऊ मिलेर बगँैचा सजाउँ
भाइचाराको मर्ममा ।