मणिकुमार श्रेष्ठ ‘सिजन’

तिम्रो र मेरो बाटोको तगारा
त्यो जात होइन
आउ परिवर्तनको यात्रामा
बदलौँ सोचहरू
तिमी किन लेख्न सक्तैनै
आफ्ना जात
अनि थरहरू ।

तिमीलाई आफ्नो जातमा
गर्व छैन यहाँ
तिमी जातको परिधिमा
पेलिएको छौ
तिमीलाई अधिकार दिने
नेताहरू
तिमीलाई
कोटाको नाममा विभेद गर्दैछन्
यहाँ
अनि भोटाको नाउँमा ।

लेख तिमी हत्केलाहरूमा
परिश्रमका जातहरू
कोर तिमी पानाहरूमा
पौरखी जातहरू
बोल तिमी आवाजहरूमा
सुमधुर जातहरू
हो ?
आज तिमीले बोल्नै पर्छ
तिम्रा जातहरू ।

तिमीलाई इतिहासले
लेखेन यहाँ
भविष्यले तिम्रा बारेमा
खोज्ने छैन यहाँ
तिमी आफैँ माटोमा विलिन
हुँदैछौ
तिम्रा अस्तित्वको रक्षा गर्न
तिमीले बोल्नै पर्छ अब
तिमीले नारी भएर बोल्नु पर्छ
तिमीले इमान्दार, एउटा योद्धा
भएर बोल्नै पर्छ ।

कुनै जातको विभेद
संविधानमा छैन
कानुनमा छैन
समाजमा विभेद किन हुन्छ यहाँ
जात-जातमा विभेद छ
जात भित्र विभेद छ
त्यसैले त तिमीले
आफ्नो जात लेख्नु पर्छ
विभेदको अन्त्य गर्न
समाजको परिवर्तन गर्न
अब तिमीले जात लेख्नै पर्छ
जात भित्र लुकेको
पहिचान देखाउनु पर्छ
त्यसैले तिमीले जात लेख्नै पर्छ ।

 

साल्पासिलिछो – १, भोजपुर
इमेल : manistha35@gmail.com