
आज पुस पन्ध्र
गुरुङ समुदायको तमु ल्होसार
आजै पुषे पन्नर
ठूली रात
डोटेली संस्कृतिको मौलिक पर्व
सबै-सबैबाट प्राप्त शुभकामनाका मीठा उद्गारहरूले
सामाजिक सञ्जाल सजिएका छन्
हाम्रो तर्फबाट पनि समस्त गुरुङ समुदायमा
नयाँ वर्ष आरम्भको मङ्गलमय शुभकामना
तमु ल्होसारको शुभकामना
गाउँ खाने कथा हाल्दै, भुच्चाने रोटी खाँदै
पूषे पन्नरको शुभकामना
सुदूरपश्चिमेली दाजुभाइ ।
अनि आज पुष पन्ध्रम
खस आर्य, पूर्वी पहाडे
बाहुन क्षेत्री
तिमीलाई चाहिँदैन शुभकामना
तिम्रो पनि त पर्व हो पुष पन्ध्र
खादैनौं रातो/ सेतो अनदीको लट्टे
गुलियो चाम्रे भात, दूधमा पकाएको खिर, ढकने, भुटेको खट्टे,
चिचड रोटी, सेल रोटी, खिचडी भात
बिर्सियौ पन्ध्र पुसको घिउ–सक्खर, तरुल, सखरखण्ड
पुवा, मालपुवा, अर्सा, अनरसा, सातु, कसार ।
ए मगर दाजु, मगरर्नी भाउजू
आज पुस पन्ध्र, तिम्रो पनि त पर्व होइन र ?
आएनन् चेलीबेटी चामल र रक्सी बोकेर
बिर्सियौ माइती दाइ ?
घिउ, रोटी, रक्सी, मासु भात
गरेनौ सह-भोज
खाएनौं खुवा, ख्वाएनौं खुवा
ए मगर ठिटो
सह-भोजमा/ यो वनभोजमा खुवा खाँदै मन पराएनौ कुनै मगर्नी ठिटी
गरेनौ घरजम ?
तिमीलाई पनि त चाहिएला शुभकामना
हाम्रो छ है शुभकामना सबै सबैमा ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

