बाँसको झाङमा पुगेपछि
अलिबेरमा शान्त हुनेछन्
दिनभरको उडाईले थाकेर
चिरबिराउँदै फर्किरहेका सारौंका झुण्ड ।
गोठमा पुगेपछि
अँध्यारोमै शान्त बस्नेछन्
र, आफ्नै जीवन इतिहास
सम्झिरहने बूढो मान्छेझैं
एकनास उग्राउने छन्
दिनभर चरेर
गोठालाले नफर्काउँदै
चरनबाट धुलो उडाउँदै घर फर्किरहेका
गाई, बाख्राका बथान ।
मधुरो र कमलो हुँदैछ
केही घण्टा पहिलेसम्मको चर्को घाम
र, केही बेरमा छोप्ने छ गाँउ, बस्ती
पश्चिम सरिरहेको सूर्यसँगै
गाढा भएर पूर्वतिरबाट सरिरहेको
अँध्यारोको एक थान बकोर्ले ।
चुपचाप सुत्ने छ
पेट र पिठ्युँको मोर्चामा
दिनभर लडेको मान्छे केहीबेरमा
र, शान्त हुनेछ केही बेरमा
यो थकित बस्तीमा जीवन ।
हेरिहरेको छु
जीवनको उत्तरार्द्ध घिसारिरहेको म यो सब
र, सोच्दै छु—
शिथिल र कमजोर हुँदोरहेछ साँझ
दिनको होस् वा जीवनको !
ग्रीनहिल सिटी
कागेश्वरी मनोहरा–६
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला