कतै टाढाबाट रमझम हेर्दाहेर्दै
मेरा नजर मोडिन्छन्
मन्दिर, घण्टी र धुपको धुवाँतिर
व्यस्त मान्छे आरतिको धुनतिर
मग्न भक्तजनको कोहोलोमा
ऊ सुतिरहेको छ
पालो कुरिरहेको छ
भक्तहरू नाच्दै छ्न्
भजनहरू गाउँदैछ्न्
शङ्ख र घन्टीमा
मानौँ यो शहर झुम्दैछ
यो जगत् डुब्दैछ
तर त्यो पारि कुनामा
थोरै जमिन ओगटेर
मस्तसँग आफैँलाइ बिर्से जसरी
सन्नाटाले ऊ पुरिएको छ
बेपरवाह पल्टिरहेको छ
निदाइरहेको छ आकाश अँगालेर
धर्तिको बिस्तारामा
कलिला फूलहरूको समीप्यमा
देख्दै गर्दा मेरो मनमा
आरिसका लहरा दौडिन्छ्न्
हेर्दाहेर्दै मेरो आँखामा
पानीका दुई चार थोपा पोखिन्छन्
कति शान्त उस्को तन-मन
कुनै दिन म पनि यस्तै शालीन
भद्र निद्रामा हुनेछु एकछिन

दुई थान आफन्तीको चिसो आँखा
चिसो मुटु, थोरै पुष्पगुच्छा
जबरजस्ती सियोमा उनिएका माला
ओइरिएको रातो अबिर र खादा
मानौँ ऊ विजय जुलुसमा निस्किएको छ
धर्तिबाट महापथको यात्रामा लम्किएको छ
पिँजडाबाट निस्केको
निस्फिक्री पक्षीजस्तै
कर्तव्यको साङ्लोबाट फुस्केको
सहज कैदीजस्तै
भ्रम र झुट्को खेतीबाट मुक्त
निस्छ्ल बालकजस्तै
ऊ उड्न तयार छ
धुँवा बनेर सिङ्गो जगत डुल्नलाई तयार छ
न गीत, न सङ्गीत, न माया, न मोह
न रोग, न शोक
ऊ निराकार
केवल कुरिरहेको छ
बिसाएर दुई चार
अधुरा रहर, ओइलिएका सपना
महत्त्वाकांक्षाका पोका
सेलाएर पशुपतिनाथको काखमा
ऊ कटिबद्ध शरीरसँगको
अन्तिम नाता
अन्तिम साथ…अझै
निभाइरहेको छ कुरेर
आगोको न्यानो लप्का
तातो आभा
पर्खिरहेको छ
आफ्नो चिसो शरीर लिएर
मसान घाटमा एकछिन ।