ससाना नानीहरूलाई वर्षौ लगाएर
वणर् पढाएँ
अक्षर पढाएँ
वाक्य पढाएँ
पढाउन त के के पढाएँ पढाएँ
ऊ पढाएँ
त्यो पढाएँ
तिमी हामी उहाँ पढाएँ
यहाँ र त्यहाँ पनि पढाएँ
बिर्खेको जीवनी पढाएँ
हर्केको कथा पढाएँ
बाँझो पाखो पढाएँ
सपनाका सहर पढाएँ
जोड घटाउ पढाएँ
भूगोल पढाएँ
इतिहास पढाएँ
कविता पढाएँ
कथाभित्रका व्यथा पढाएँ
सबै सबै पढाएँ
पाठ्यक्रममा समेटिएका
विधा र क्षेत्र सबै पढाएँ
यति धेरै पढाई सक्दा पनि
ऊ भित्रको म लाई नै
पढाउन बिर्सिएछु
त्यसैले माथ्ला घरको साइला दाइको छोरो
मैले नै पढाएको विद्यार्थी
ऊ आजकाल
न मलाई चिन्छ
न उसलाई चिन्छ
न आमालाई चिन्छ
न बुवालाई चिन्छ
ऊ बुवा चिन्दैन
न समाज चिन्छ
न संस्कृति चिन्छ
न बुवाको पीडा चिन्छ
न आमाको आँसु देख्छ
मैले ऊ भित्रको म लाई नै पढाउन बिर्सदा
न उसको कानले आमाको बोली सुन्छ
न उसको हातले एक गिलास पानी ल्याउँछ
ऊ त ऊ नै भएर एक्लै पल्टिरहन्छ एक्लै कोठामा
हामीले ऊ भित्रको म लाई पढाउन नसक्दा नै होला
नैतिकता सद्भाव सहयोग भाइचारा
सदासयता कर्मनिष्ठता लगनशीलता जस्ता
म भित्र समेटिएका पाठहरूलाई
इमान्दारीका साथ भन्नुपर्दा पढाउनै सकेनौँ
ऊ भित्रको म लाई जगाउन
म बारम्बार चुकेँ
तपाईं पनि कतै चुक्नु भएको त छैन ?
ढिलै भए पनि विद्यार्थीलाई
ऊ भित्रको म लाई बुझाउन सक्नुपर्छ
पाठ्यक्रमले राख्न बिर्सिएको ऊ भित्रको म लाई
हामी आफैले भए पनि पढाउनुपर्छ
नभए त कालान्तरमा गएर
शैद्वान्तिक शिक्षाको ए प्लसले
विधार्थी लङ्गडो बन्छ
होइन भने भन्नुस् न त !
परीक्षामा ए प्लस ल्याएको
विद्यार्थीको व्यवहारले
आमा बुवा गुरुजन मान्यजन
परपाहुना इस्टमित्र किन चिन्दिन भन्छ ?
हो मैले ऊ भित्रको म लाई पढाउन बिर्सिएकी छु
मैले पढाउनुपर्छ ऊ भित्रको म !

भूमिका खनाल

सुन्दरहरैचा ,९ मोरङ