कैलाशकुमार पाण्डे

व्यस्त सहरमा
कुनै बेला आफूलाई नितान्त
एक्लो पाउँछु
व्यस्त भीडभाडमा
एक्लो पार्ने सहरको विशेषता
भैसकेको रहेछ
मलाई लाग्थ्यो यो सहर मेरो पनि हो
यहाँका मानिस मेरै आफन्त हुन
यहाँको समृद्धिमा मेरो पनि हिस्सा छ
प्रत्यक्ष सरोकार छ सहर सँग
मेरो पनि
तर होइन रैछ
सहर बिरानो रहेछ
सहरको रहन सहन जनजीवन
हामीले सोचे भन्दा बिल्कुल फरक रहेछ
मालिक प्रवृत्तिको विकास भएको रहेछ
घैला मैला गरिब पाखे भेडा
देख्दा रैछन् गाउँमा बस्नेलाई
टोपी खस्ने आलिशान महल
गहिरिएर हेर्‍यो भने
हाम्रै पसिनाले बनेको हुनसक्छ
यहाँको माटो परीक्षण गरियो भने
हाम्रै पूर्खाको रगतको गन्ध मिल्छ होला
दु:ख लाग्छ
जहाँ हाम्रो रगत पसिना बगेको छ
त्यो बिरानो भयो
त्यो सहर भयो
सहरका प्रतिको मेरो द्वेष ईर्ष्या होइन
सहरका प्रति पूर्वाग्रह पनि होइन
सहर सबैको हुनु पर्थ्यो भन्ने हो
सहरका प्रति अपनत्व हुनु पर्ने हो
सहरको पनि गाउँका प्रति अपनत्व हुनु पर्ने हो
सहरका प्रति भरोसा हुनु पर्थ्यो
तर त्यो भएन
क्रमशः सहर बिरानो हुँदै गयो
हरेक मानिस आफूलाई
व्यस्त सहरको एक्लो मान्छे
पाउन लाग्यो
सहर विकास,उन्नतिको प्रतीक हुनु पर्थ्यो
हजारौँको भीड छ
परी हालेछ भने हात तान्ने कोही छैनन्
बरु खुट्टा तान्छन्
धुवाँ धुलो फोहोरलाई माया गर्छ
तर गाउँलाई हेला गर्छ हेयले हेर्छ
गाउँ सत्रु होइन
गाउँ बोझ पनि होइन
बरु भरोसा हो
सहरको आडम्बरले क्षय गरिरहेको छ
दम्भले दूरी बढाउदै
द्वन्द निम्त्याउदै छ
रहन सहन व्यवहारले
हरेकलाई एक्ल्याउदैछ
व्यस्त सहर एक्लो सहर भएको छ
व्यस्त सहरमा एक्लो बनाउदै छ ।

परशुराम १२ डडेल्धुरा