मधुसुदन घिमिरे

माया तिम्रो र मेरो
प्रेम पनि मेस्सी र एम्बाप्पेको
खेल जस्तै प्रतिस्पर्धा भयो
न मैले हार स्वीकार्न सकेँ
न तिमीले जितमा खुसी
हुन सक्यौ ।

केवल मायाको प्रतिस्पर्धामा
दुवै मुछिइरह्यौ ।

आश र चाहना त
कति थिए कति
तर एकले अर्काको
मन बुझ्न सकेनौँ ।

लाग्छ आजभोलि हामी
एउटै नदी भईकन
पनि दुई बगर हौँ ।

न हाम्रो कहिल्यै भेट
हुन सक्छ न कहिल्यै
कसैले एक गराउन सक्छ ।

म तिम्रो यादमा तड्पिदैँ
वल्लो किनार बनिरहन्छु
तिमी मस्किदैँ र रम्दै अरू कोहिसँग
जीवन बिताउँछ्यौ ।

हो हामी चाहेर पनि
एक हुन सकेनौँ ।

म तिमी जस्तो बन्न चाहन्न र
तिमी म जस्तो बन्ने चाहना
पनि राख्दिनौ।

हाम्रो मायाको खेल
यति प्रतिस्पर्धी भयो कि !
विश्व प्रतियोगिता गर्ने हो
भने तिमी र म
नै प्रथम हुने थियौँ ।

तिमी र म बीच
खै कसरी प्रेम हुन पुगेछ
सोच्दै छु आजभोलि
सायद त्यतिबेला
राम र रावणको युद्ध
चलेको थियो कि !

तिमी लगाइरह्यौ
प्रेमका झुठा आरोप अनि
खुवाइरह्यौ अविश्वसनीय कसम ।

म तिम्रो प्रेममा यति डुब्दै
गएछु कि मलाई म हुनुको
आभास नै लाग्दैन ।

यी मेरा अतृप्त आँखाहरूले
आफैँले आफैँलाई चिन्दैनन् ।

यो मन खै कहाँ दौडिरहेछ
यी ओठहरू बोल्नको लागि
थर्थराइरहन्छन् ।

यो मनले एकतमास तिमीलाई
नै चाहिरहेछ ।

तिम्रो सामीप्यको आभास
खोजिरहेछ ।

हो म आजभोलि
उही रूपमा तिमीलाई
नै चाहिरहेछु ।

मधुप्रसाद घिमिरे
जमल , काठमाडौं