भेडाहरू विचारको ताज लगाउँदैनन्
भेडारू गेडामा चल्छन्
मकैका गेडा
भट्टका गेडा
उनीहरूसँग आँखाका गेडा छन्
गेडाले गेडामात्र देख्छन्
कुर्सीले बटुल्ने गेडा
पैसाले हसुर्ने गेडा
सुनका गेडा

उनीहरूलाई यत्ति थाहा छ
बस गेडा खानुपर्छ
गेडै फाल्नुपर्छ
विचार के हो किन सोच्नु
बस्नलाई मालिकले खोर बनाइदिएकै छ
खानलाई मालिकले चोर पठाइदिएकै छ
विचारले के नै गर्नु छ र
पेट फुट्ने गरी मालिकले घुरान दिएकै छ
मलिकलाई तातो दिने हाम्रै जिउको ओछ्यान काफी छ
हामी उनलाई सुत्न दिन्छौँ
उनले हाम्लाई कुद्न दिन्छन्
हामी कुद्छौँ उनी हेर्छन्
उनी सुत्छन् हामी हेर्छौँ

जगन्नाथ पौडेल

भेडाहरूलाई पाल्ने मालिक हुन्छन्
भेडाहरूलाई किन्ने मालिक हुन्छन्
भेडाको देश हुँदैन
भेडाको सिमाना हुँदैन
भेडाको भाषा भेडै हो
भेडाको संस्कार भेडै हो
भेडाको भविष्य हुँदैन
भेडाको लक्ष्य हुँदैन
भेडालाई भेडा हुनुमा जति आनन्द
मान्छे हुनुमा कहाँ हुन्छ र
भेडालाई पछि लाउनु र हाम फालेर मर्नुमा जति सुख बाँच्नुमा कहाँ हुन्छ र
त्यसैले भेडा भेडै हो
गेडा गेडै हो
अब भेडाहरूले
मान्छेको इतिहास
भेडाकै भाषामा लेख्न सक्छन्
हाम्रा नानीहरूको नाम भेडै राख्न सक्छन्
त्यसैले भेडाको इतिहासमा दर्ज हुनुअगावै
आऊ मान्छेहरू
आत्मदाह गरौँ
भेडाहरूको देशमा !