अमित संग्रौला

आज पनि
उतिकै प्रेम गरिरहेको छु
हिजोसम्म गर्थेँ
उस्तै प्रेम
ताजा निर्मल स्वच्छ
शुद्ध प्रेम
आज पनि तिमीलाई गरिरहेको छु ।

श्रद्धाको फूल चढाएको छु
तिम्रो सामीप्यमा रहेर
अनन्तको अनुभव गरिरहेको छु
जसरी
झर्नाले नदीसँग प्रेम गरिरहेको हुन्छ
पहाडले चट्याङसँग प्रेम गर्छ
चाँदनीले चकोरसँग प्रेम गर्छिन्
नवजात शिशुलाई आमाले
कसरी प्रेम गर्छिन् ।

गाईले आफ्नो बाछाबाछीलाई
कसरी दूध खुवाउछिन्
त्यस्तै निस्वार्थ प्रेम
आज पनि तिमीलाई गरिरहेको छु ।

तिमी अदृश्य भएर बसिरहदा
यतै कतै थियौ लाग्थ्यो
मेरै वरिपरि मेरै छेउछाऊ
तर पनि तिमीलाई छुन खोज्थेँ
तिम्रो उपस्थितिको महसुस गर्थेँ
आज पनि उस्तै प्रेम
हिजो गर्थेँ आज पनि
उतिकै प्रेम गरिरहेको छु
निस्वार्थ रहित प्रेम
तिमीलाई गर्छु र गरिरहेको छु ।

प्रेमको सीमा छैन
आकार छैन
परिधि छैन
यो त
अनन्तसम्म छ
कसरी भनौँ तिमीलाई
आज पनि उतिकै प्रेम गर्छु
हिजोसम्म गर्थेँ निस्वार्थ प्रेम।

अमित संग्रौला बिर्तामोड