अङ्गीरालाई लिएर घर गएपछि वीरेन्द्रकी आमा

छोरा !
कसलाई लिएर आइस् यो घरमा ?
कुन रमिता लिएर आइस् ?
यो पासीलाई छोएर के गरेको ?
कसले भिडाइदियो तँलाई
र बोकेर आइस् कलङ्क ।

पस्न दिन्नँ मेरा घरभित्र
फर्की ! तँ जताबाट आइस् उतै फर्की
नदेखा ! बेइजती अनुहार नदेखा !
म अकालीदेवी
आज मेरो कोखलाई धिक्कार गर्छु
र दुत्कार्छु तँ छोरालाई
जबसम्म जिउँदो रहन्छु
बस्ने छैनस् वीरेन्द्र
तँ यो स्त्रीसँग यो घरमा ।

ज्योति जङ्गल

मेरा पितृहरुले धिक्कार्नेछन्
यो बुहारी भई भने
मेरा माइतीहरुले पानी काड्नेछन्
यसले छोएको खाएँ भने
बरू त्याग्न सक्छु म छोरो
बरू सहन सक्छु म विछोड
बाँच्न सक्छु आजीवन एक्लै
मर्छु बरू
तँलाई नबोलाइकन बुढेसकालमा
तर स्वीकार दिन सक्दिनँ म ।

म ललकार गर्छु यो पञ्चायतलाई
यसलाई के गर्छ पञ्चायत जानोस्
मलाई के गर्छ चौधरी गरोस्
मान्दिनँ म त्यसको आदेश मान्दिनँ
म डराउँदिनँ यो भिडदेखि पनि डराउँदिनँ ।

मैले देखेको धर्मका विरूद्धमा
मैले जानेको संस्कारका विरूद्धमा
म समाजको पनि आदेश मान्दिनँ
के सजाय गर्छ मलाई सरकार जानोस्
तर यो घरको अधिकार मेरो छ
फर्की तँ ! जताबाट आइस् उतै फर्की
हटाइदे मेरा आँखाबाट यसलाई ।

वीरेन्द्र बिस्तारै बोल्छ

आमा !
अङ्गीरा पनि मान्छे हो
मान्छेले नै बनाएको जात त केवल मिथ्या हो
मानवीयताको कालो धब्बा
कुसंस्कारको घेरा हो
यसलाई मोडेर हिँड्नुपर्छ
र बदल्नुपर्छ मान्छेका लागि
यसलाई सच्याउनुपर्छ
र एक हुनुपर्छ मान्छेका लागि ।

आवेशमा एउटा गल्ती भएपनि
अर्को अपराध अब म गर्दिनँ आमा !
म पञ्चायतलाई मान्छु
र प्रायश्चित गर्छु मेरो कुकर्मको
अङ्गीरालाई स्थान दिनुस्
म पनि उभिन्छु उसको साथ ।

म पनि त डराएथेँ
मेरै विरादरीको कानुनदेखि
म पनि त भागेको थिएँ
अङ्गीराको साहचर्यदेखि
अब आँट बढेको छ
आमा यिनलाई स्वीकार
अब कानुन चलेको छ
आमा ! त्यसलाई स्वीकार ।

आमा उत्तर दिन्छे

म मानिस मात्र होइन, मेरो धर्म पनि हुँ
म आमा मात्र होइन, मेरो कर्तव्य पनि हुँ
मलाई संस्कार सिकाउने यही धर्म जानोस्
को बनाउँदछ अदृश्य संस्कार उही जानोस्
किन अप्ठ्यारो बनाएको छ यसले मलाई
किन कट्टर बनाएको छ संस्कारले मलाई ?

जात दिएर किन जन्माएको छ मलाई
सोधौँ सुनिदिनेहरु छैनन्
बुझौँ भाग्यको खेल भन्छन्
उत्तर दिनेहरु छैनन्
तर जात काड्नेहरु छन्
मान्छे बनाउनेहरु छैनन्
बरू खिसी गर्नेहरु छन् ।

यहीँ बस्नु छ मलाई झुकाएर टाउको कसरी बसूँ म
यही मर्नु छ मलाई निर्धो भएर कसरी सहूँ म ?
यहाँका आँखाहरु
छड्के चियो गर्छन् मेरो, कसरी लडूँ म ?
किन हिँडेको छस् तँ
धर्मको बाटोभन्दा उल्टो ?
किन सिकेको छस् तैँले
मैले सिकाएको भन्दा उल्टो ?

अब भोग्नुपर्छ तैँले स्वयम्
अब भोग्न तयार छु म स्वयम् ।