छोरो कविता लेख्छ
आमा लेख्छ
बुझ्दैन ऊ हो एक दिव्य कविता
बुझ्दैन ऊ अझै मेरो मानसिक गर्भबाट जन्मन सकेको छैन

पेन्सन भए खान्थ्यो होला मेरो
टेन्सन छ म एक्लै खाइरहेको छु

रूपक अधिकारी

कहिलेकाहीँ रुन्चे अनुहार बोकेर आउँछ
कहिले याद पनि गर्दैन
कहिले यो गर्छु, त्यो गर्छु
गर्न सकिनँ केही पनि बा पैसा बिना
– दुःख सुसेल्छ कहिले
तर पीडा भरिएको यो छातिले जाडोमा कति सिट्ठी बजाउँछ, सुन्दैन
सुन्छ त केवल फलाना फलानाका बुवाले तिनलाई केके दिए
अनि घुमाउरो भाका बोल्छ – तिम्रो छोरा हुनाले

उसलाई यो पनि थाहा नहोला मेरै छोरा भएकाले उसले भूगोल देखेको हो
उसलाई लाग्छ चमत्कार हो जन्म
त्यसैले गरिराछ मेरो विश्वासको बारम्बार बलात्कार

पैसा उसलाई मन पर्दैन
फेरि बारम्बार पैसा माग्ने जोगी उही हो
बालाई आमा भन्छ दुनियाँ अघि
फेरि बेवास्ताको पर्खाल ठड्याउने रोगी पनि उही हो

ऊ जो सुन्दर कविता हो, बुझ्दैन कविले कसरी लेखे
आज त्याग बुझाउँदैछ
भावहीन
अर्थहीन
र मन्चमा कविता भन्दै अन्टसन्ट सुनाउँदै हिँड्छ ।