(‘भाइरल कविता’अन्तर्गत यसपटक कवि सुरज पराजुलीको  अहिले चर्चामा रहेको कविता ‘नखोजिएको मानिस’ प्रस्तुत गरेका छौँ । यो कविता अहिले सञ्चालमा चर्चा, परिचर्चासँगै भाइरल बनिरहेको छ । हामी हरेक साता यस्ता कविताहरूकाे खोजी गरेर यहाँहरूसमक्ष प्रस्तुत गर्ने प्रयास गर्नेछाैँ। )

कविता : नखोजिएको मानिस

ठ्याक्कै खेती गर्ने बेला
आएको वर्षाजस्तै थियो ऊ
सबैलाई मुस्कान बाँड्दै हिँड्ने यात्री थियो ।

तर
निकै समय भयो साँच्चै धेरै भयो ऊ हराएको

अचानक गायब भएको भने होइन
किस्ता किस्तामा सकिँदै गर्दा
कसैले वास्ता नगरेका मात्र हुन् ।

वर्षौँ
कसैको डाइलिङ नम्बरमा नपरेर
कसैबाट बाडुली नपाएर
कसैको हाल खबर सोधाइमा नआएर
रित्तिदै थियो ऊ ।

सुरज पराजुली

जिँउदाको जन्ती र मर्दाको मलामी
सूचीबाट मेटिदै थियो ।

गाउँका साथीहरुले नसम्झिएपछि
सहरका यारहरुले याद नगरेपछि
आफ्नाले नबोलाएपछि
दुश्मनले भुलाएपछि
भएर पनि थिएन ऊ कतै ।

कसैले माडेको सुर्ती च्याप्न नपाएर
कसैले बाँडेको चुरोट चुम्न नपाएर
कसैको रक्सीको साथी बन्न नपाएर
कसैको छुटिसकेको लत भएको थियो ऊ ।

साँझमा एक्लै भट्टी छिर्दै गरेको
देखेका थिए रे कसैले
कुनै कविताको हरफमा किचिएको अवस्थामा
भेटिएको थियो रे भन्छन् कोही
घरबाट दिनदिनै
आफैँलाई खोज्न निस्कन्छ रे ऊ
सुनाउछन् केही ।

उसलाई चिन्ने धेरै थिए, बस् ! खोज्ने कोही थिएनन् ।

मरेको थिएन ऊ
र, यो कुरा पनि कसैलाई थाहा थिएन ।