हराएका छन्
तपाईंहरूले रोपेका नीम, तीतेपाती र मुन्गा
प्लास्टिकका टुक्राले छोपिएका छन्
सयपत्री, घिउकुमारी र यार्चागुम्बा
धुवाँको तातोले
ओइलाएका छन् अम्बक, कागती र मेवाका बोट
रासायनिक मल र कीटनाशकको आतंकले
फुलौँ कि नफुलौँ भएका छन्
तोरी, पारिजात र सयपत्रीका फूल
साँच्चै !
छली विष्णुको बन्दीघर नै भएको छ तुलसीको मठ
बाजेबजैहरू !
बाआमाहरू !
यस्तो छ
तपाईंहरू नहुँदाको हाम्रो घरको सेरोफेरो
खै कता हराए कुन्नि
तपाईंहरूले कामधेनु मान्ने गरेका गाई
खै कता उडी गए कुन्नि
तपाईंहरूका हल्कारा पिकदूत
अब कसरी आफ्ना भए र
भतुवा लाग्न हिँडिरहने बाघ र गैँडा पनि
अब कसरी आफ्ना भए र घार छाडी हिँडेका मौरी नै
बाजेबजैहरू !
बाआमाहरू !
यसरी रूपरङ्गविहीन भएको छ
तपाईंहरू नहुँदाको हाम्रो घर / हाम्रो परिवेश
तपाईंहरू नभएको खबरसँगै
उजाड भैसकेको छ नदी किनारको हरियाली
लाजै नमानी
हरियाली मासेर बनाइएको छ चिहानघारी
सखुवाको वनमा आगो झोसेर
बनाइएको छ सुर्ती कारखाना
र बनाइएको छ सुर्तीको घारी
तपाईंहरूको खबरदारी सुनेरै मात्र पो
हच्केका रहेछन् रुख काट्न तम्सनेहरू त !
तपाईंहरूसँग मात्र पो रमेको रहेछ
हाम्रो हरित सभ्यता त !
सम्झँदै छु अहिले
बाटो बढाउने नाउँमा
सिमल ढाल्न आएकाहरूसँग
उसबेला देखिएको तपाईंहरूको तातो रिसानी
सम्झँदै छु अहिले
सिसौ ढाल्न आएकाहरू माथिको
उसबेला देखिएको
तपाईंहरूको कुटानी पिसानी
बाजेबजैहरू !
बाआमाहरू !
अब तपाईंहरू त हुनुहुन्न
तर सेरोफेरोले हामीसँग खोजिरहेको छ
तपाईंहरूसँगै हराएको त्यही वात्सल्यको खानी
बाजेबजैहरू !
बाआमाहरू !
अब तपाईंहरू त हुनुहुन्न
तर अब तपाईंहरूको सिको गरेर
हामीले आफ्नै रक्षार्थ पनि
अवश्य नै फर्काइदिनुछ परिवेशलाई
हाम्रैहरूबाट खोसिएको
हाम्रैहरूबाट लुटिएको
धराको अमर कहानी रचिरहने
उसको
त्यही
चोखो जवानी !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।