करूणा सुवेद

थाहा छ बटारिएपछि रुई रुई रहन्न
तर पनि ज्योति बन्ने
अभीप्सामा बाँचिरहन्छ
शिखामा पुतलीको जीवन समाप्त होस्
तर पनि समर्पित हुने अभीप्सा जागिरहन्छ

होला सायद
तिमीलाई सम्झिइरहनु भनेको म सिद्धिइरहनु
मलाई त रित्तिनु थियो तिमीमा
न म आधा रहेँ न म पूर्ण भएँ
न म समाप्त भएँ न म ‘म’ रहेँ
अधकल्चो घाउलाई त
एउटै आस हुँदो रहेछ सधैँ
कि कसैले विषै सही
तर मल्हम हो भनेर लगाइदियोस्

लाग्छ कि कहिले रोकिदिउँ सासका ढोकाहरू
तर पनि आसका हावाहरू
तिम्रो सुगन्ध बोकेर यसरी चलिदिन्छन् कि
म बाँचिरहेको हुन्छु केवल तिम्रा लागि
यर्थाथमा, एक्लो यादमा तिमी यसरी आउँछौ
जसरी आँपका फूलमा घुमिरहन्छन् भमराहरू
जसरी झुम्मिरहन्छन् धानको खलोमा चराहरू
जसरी मडारिरहन्छन् वर्षातमा बादलहरु
तिम्रो यादको तातो लप्काले हानेर
बारम्बार पग्लिरहेछ कोमल मन

न पुग्छन् मेरा आवाज सुदूरसम्म
न पुग्छ मेरा आँखाको बाटो तिमीसम्म
न पुग्छन् पाउहरू तिम्रो पदचाप टेक्न
लाचार र विवश बनेर आफ्नै
परिचय भुलेको थकित यात्री झैँ
पल्टिरहेकी छु भयानक अन्धकारमा
के तिमी ज्योति बनेर आउँछौ ?

म्याग्दी !