मेरा हात आकाशसम्म पुग्न सकेन
यसैले त्यो सधैँ टाढै रह्यो छुवनदेखि

तर जब
म भुइँलाई छुन्छु
मेरा हातबाट माटोको ताजा बास्ना आउँछ ।

त्यसबेला म मगमग हुन्छु ।

एउटा अन्तिम इच्छा गर्न चाहन्छु
अन्तरिक्षको उचाइबाट
पृथ्वी हेर्न चाहन्छु ।

मलाई विश्वास छ
त्यहाँबाट देश देश जस्तो देखिन्न
जाति जाति जस्तो देखिन्न

त्यहाँबाट
मानिस मात्र देखिन्छ
पृथ्वी मात्र देखिन्छ ।


कालो र सेतो अलग रहे
नस्लभेद जन्माउछ
मिले सङ्गीत।

एउटा हातका अम्लीहरुबीच खाली ठाउँ यस्कारण हुन्छ कि जब अर्का हातका अम्लीहरु आपसमा मिल्छन्
नयाँ परिभाषा बनाउँछ।

जसरी इन्द्रेणीमा सात रङ्गहरूको हार्मोनी ।
हार्मोनी भनेकै एक अर्काको सहकार्यको सुन्दर नमुना हुन् ।

 

सिलगढी,भारत !