साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

क्वारेन्टाइन र देश

Chovar Blues Mobile Size

म अहिले क्वारेन्टानमा छु
र परीक्षा दिएको छु जीवनको
थाहा छैन, कहिले आउाछ रिजल्ट
मृत्युपछि आउछ की मृत्युअघि
यस्तो पनि लाग्छ कहिलेकाही
म रिजल्टका लागि मृत्यु कुरिरहेको छु ।

यो क्वारेन्टाइन हो
यहाँ
जोड जोडले खास्नु हँुदैन
दुखे पनि दुख्यो भन्नु हुँदैन
रोए पनि चिच्याएर रुनु हुँदैन
यहाँ हरेक समय
दाऊमा राख्नुपर्छ आफ्नो इज्जत
झिमिक्क निदायो भने मात्र हुने छ जीवन ध्वस्त
त्यसैले निदाए जस्तै मात्र गर्नुपर्छ तर निदाउँनु हुँदैन

यो क्वारेन्टाइन हो
यहाँ भोक लाग्यो भन्न मिल्दैन
तिर्खा लाग्यो भन्न हुदैन
दिसा पिसाब लाग्यो केही भन्न हुँदैन
यहाँको नियम भावनाले चल्दैन
यहाँको मन मुटुले चल्दैन
केवल लठ्ठीले चल्छ यहाँको शासन
सिमानाको पर्खाल भन्दा अग्लो छ कोरोना पर्खाल
त्यही पर्खालभित्र खुम्चिएको यो मन ।

यहाँको प्रत्येक छाक भातमा कमिसन मिसिएर आउँछ
र हामी केही छाक भात खान्छौ
केही छाक कमिसन खान्छौ
क्यारेन्टाइनको यात्रा लामो छ
जीवन देखी चिहानसम्म
र यो लामो यात्रामा नबिराइकन र नथाकिकन
लगातार हिँडिरहन्छ भ्रष्टाचारको पाइला सँगसँगै
यहाँ हरेक रात जीवनको मोलमोलाई हुन्छ
र हामी केही रात जीवन सुत्छौ
केही रात मृत्यु सुत्छौ ।

मलाई थाहा छ
म जति कहरमा बाँचेको छु
त्यो भन्दा सयौ गुणा ठूलो कहरमा बाँचेको छ मेरो घर
फरक यत्ति हो कि
म अहिले क्वारेन्टाइनमा छु
मेरो घर भोक भोकै लकडाउनमा बसेको छ ।

म सोचिरहन्छु
क्वारेन्टाइन यस्तो भएर
देश यस्तो भएको हो कि
देश यस्तो भएर क्यारेन्टाइन यस्तो भएको हो
तर जे पनि
देशको अनुहार
र क्वारेन्टाइनको अनुहार उस्तै उस्तै लाग्छ मलाई ।

 

प्रतिक्रिया
Loading...