वषौँदेखी अर्काको खेतको आली धस्दै आएको विरेलाई
मालिकको खेतको सिमाना थाहा छ
जी हजुरी र मर्यादाको सिमाना थाहा छ
भोक र उत्पीडनको सिमाना थाहा छ
गरिबी र मजबुरीको सिमाना पनि थाहा छ ।
तर, अफसोच् उसलाई देशको सिमाना थाहा छैन
आफ्नो भन्ने केही छैन, राष्टृयताको सिमाना थाहा छैन
भूगोल जान्दैन ऊ, अहँ ! कूटनीतिको सिमाना थाहा छैन ।
इतिहास पढेको छैन, समयको सिमाना थाहा छैन
दुई गाँस खान पाइने लोभमा मात्रै भोट हालेको हो
अहँ ! राजनीतिको सिमाना थाहा छैन ।
उसका लागि जम्मै भूगोल त्यही मालिकको खेत जति मात्रै हो ।
जम्मै इतिहास भोककै पीरले
आफ्नी स्वास्नी अर्कैसँग पोइल गाको विगत जति मात्रै हो ।
जम्मै राजनीति पेटको भोक शान्त पार्न गर्नुपर्ने
श्रमको पराकाष्ठा जति मात्रै हो ।
आज बिहान मालिकको घरको रेडियोमा सुनेको हो
देशको सिमानाका कुरा ।
राष्ट्रयता र इतिहासका कुरा
लिम्पियाधुरा, लिपुलेक र कालापानीका कुरा
नेपालको नयाँ नक्शाका कुरा,नेपाली स्वाभिमानका कुरा
यी सप्पै सप्पै कुरा सुनेर उसलाई पनि बुझ्न मन लाग्दो हो
वर्षौँबाट जोतेको खेत आफ्नो भएन
त्यो लिम्पियाधुरा,लिपुलेक र कालापानी कसको हुदो हो??
आफ्नो देशभित्रै आफू आफू भैएन
त्यो राष्टृयता कस्तो हँदो हो?
सम्पतिको नाममा त्यही एउटा हस्तलिखित नागरिकता बाहेक
केही रहेन, त्यो स्वाभिमान कस्तो हुँदो हो ?
अनि,
भोको पेटले कहिल्यै सपना देख्न सकिएन
साँच्चै त्यो अघाएपछि देखिने सपनाको रङ कस्तो हुँदो हो ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

