पुनेश कोइराला

व्यवहार बन्धन अभाव
अनगिन्ती सपनाका चांङ्ले
थिचिएको शिथिल
त्यो पुरुष सुस्केरा हाल्दै
फलैचामा टुसुक्क बस्छ
गम्छ जीवन सोचे जस्तो
नहुँदो रहेछ ।
विफलताका भारी बोक्दै
आएका उसका ढाडले
पाइलै पिच्छे थपिदै गरेको
बोझलाई बर्षौँदेखि
उसैगरी निरन्तर उठाउँदै छ
पिठ्यौँ नमक्काउँञ्जेल
आइपरे सारा प्राणीहरुकै
सालाखाला दुःखका ढकलाई उचाल्दै
तिनका परिचित अपरिचित
गन्तव्यका लागि भरिया
बन्न तयार छ ऊ
अझै जीवन प्रति उसको कुनै
गुनासो छैन ।