साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

यात्राको नयाँ थालनी

Chovar Blues Mobile Size

आऊ तिम्रो र मेरो नयन जुधाऊँ
र, बनाऊँ एउटा सुरूङ
र, पुगौँ त्यो विशाल समुद्रभित्र
जहाँ गहराई छ
रहस्य छ
जहाँ म छैन
स्वयम् तिमी छैनौ
रिक्तताको उपस्थितिमा
जिन्दगी अर्थहीन बनेको छ

आऊ तिम्रो र मेरो नासिका जुधाऊँ
र, पुर्याऊँ यी लामा श्वासहरू एक अर्काको मस्तिष्कमा
जहाँ जीवन छटपटी रहेको छ
मिलन बिना
संवाद बिना
समर्पण बिना
त्यहाँ मात्र तिक्तता छ
मित्रताको अनुपस्तिथिमा
जिन्दगी अर्थहीन बनेको छ

आऊ तिम्रो र मेरो वक्ष जुधाऊँ
र सुनौं धक धक धक
र बुझौँ यी धड्कनको अर्थ
जहाँ मात्र ध्वनि छ
संगीत छैन
जहाँ व्यग्रता छ
प्रेम छैन
जहाँ मात्र उदास निःश्वास छ
जता हेर्यो विरक्तता छ
र जिन्दगी अर्थहीन बनेको छ

भयो
त्यस अघिको रुचिहीन यात्रा
मेरो उद्देश्य होइन
म त कालान्तरदेखि
प्रेमको अर्थ खोज्दै हिँडेको एउटा मनुवा !

प्रतिक्रिया
Loading...