चिरञ्जिवी दाहाल

तिमीलाई लाग्न सक्छ
मैले पनि भगवानले जस्तै
सहजै फूल ग्रहण गर्छु
तर म भगवान होइन
म जस्तो तुच्छ मानव
भगवान बन्न पनि त सक्दिनँ
भगवानलाई जस्तै फूल होइन
मलाई विशुद्ध प्रेम गर
प्रेमको हिसाब प्रेमले मिलाउँला
तिमीले सोच्यौ होला
मेरो प्रेम खरिद गर्न
एक थुँगा फूल प्रयाप्त हुन्छ
मलाई त्यस्तो लाग्दैन
किन कि प्रेम र फूल
नितान्त अलग विषय हुन्
प्रेम अदृश्य छ
मैले तिमीलाई दिने
तिमीले मलाई दिने प्रेम
निकै मूल्यवान छ
जुन फूल जस्तै
बजारमा सर्वसुलभ छैन
भए पनि
हाम्रो खरिद गर्ने सामर्थ्य छैन
प्रेम हाम्रो निजी मामिला हो
जसलाई तेस्रो व्यक्तिले
देख्न र हस्तक्षेप गर्न सक्दैन
जसमा जिउने आधार लुकेको हुन्छ
हाँस्ने र नाच्ने बाटो खुलेको हुन्छ
प्रेमले मुटुलाई उर्जाशील बनाउँछ
रह्यो कुरा फूलको
फूल सार्वजनिक सम्पत्ति
क्रय विक्रमको वस्तु
एक थुँगा फूलले
तिमीले जस्तै प्रेम होइन सौन्दर्य दिन्छ
धेरै आँखालाई
दृष्टिभ्रम सहितको
जादु देखाइदिन सक्छ
मलाई जादु होइन
तिम्रो वास्तविक प्रेम चाहिन्छ
फूलको सट्टामा प्रेम
प्रेमको बदला प्रेम
मलाई फूलको चारो नदेखाऊ
प्रेम युक्त हाँसो दिने गर
त्यो पनि एकदिन होइन
तीनसय पैसठ्ठी दिन
अनि मात्र
सुन्दर फूलको थुँगा
हाम्रो प्रेम सहित
भगवानको चरणमा अर्पण गर्ने छु
जुन भगवानलाई निकै प्रिय लाग्छ
त्यसपछि
भगवानसँग वरदान माग्ने छु
हाम्रो प्रेम अटल रहोस् ।