आयौ कहाँबाट जानू छ कहाँ
तिमी हिँडिरहनु है जब सम्म पुग्दैनौ त्यहाँ
बसेका छौ जहाँ हो यही तिम्रो घर
तिमी हिँडिरहनु है जब सम्म पुग्दैनौ त्यो पर
कतै सहज त कतै कठिन होला बाटोमा
आखिर पुग्नु छ जसो तसो गएर त्यही माटोमा
तिमी फूल अनी काँडा दुवै अपनाउनु है
तिमी धैर्यताको सागर बनी बगिरहनु है
तिमी हिँडिरहनु है
केही छैन फरक तिमी र उनीमा
पाउनु या गुमाउनु केही छैन यो जुनीमा
सबैभन्दा ठूलो आफूलाई चिन्नु हो
अरूलाई मुस्कान दिइ आफ्ना लागि खुसी किन्नु हो
तिमी नबिर्सनु आफूलाई चिनिरहनु है
तिमी हिँडिरहनु है
तिमी आफ्नो इच्छाले आएनौ
न्वारनमा नाम इच्छाको पाएनौ
तर जिउन चाहिँ तिमी धित मरुन्जेल जिउनू
अहमता त्यागी सबैसित प्रेम स्नेहनै सिउनू
तिमी आगो अनि पानी दुवै सहनु है
हिँड्नै आएका हौ तिमी हिँडिरहनु है
समय कसले कति पाउँछ कसैलाई थाहा हुँदैन
रुँदै आएका थियौ छोडी सकेसी तिम्रो देह रुदैन
रुनु त उसलाई छ जो हिँडिरहेको छ
हिँड्दा पक्कै तिम्रो मन पनि धेरै पलमा रोएको छ
तिमी सबै परिस्थितिमा मुस्कुराइरहनु है
साथ छुट्दै जुट्दै जान्छन् बाटोमा तिमी हिँडिरहनु है
ऐनाले घर बोल्छ घर भित्रको तिमी बोल्दैन
जस्तो रूपमा छौ त्यही अपनाउनु
तिमी लाञ्छना या घमण्ड नपाल्नु
व्यवहारले नै भित्री मन बोल्छ
मुहार भित्र लुकेको आचरण खोल्छ
तिमी ऐनामा होइन आचरणमा ध्यान दिनू है
तिमी हिँडिरहनु है
तिमी स्वयंलाई अपनाउनु
सबैलाई रिझाउने दौडमा
आफैलाई नगुमाउनु
जीत र हर दुवै सहर्ष स्वीकार्नु
अरूलाई पछ्याउनु भन्दा आफैँलाई सपार्नु
आफू भित्रको बालकलाई कहिल्यै नमार्नु
जीवनले जे जे सिकाउँछ
तिमी सिकिरहनु है
तिमी हिँडिरहनु है ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।