(‘भाइरल कविता’अन्तर्गत यसपटक बहुचर्चित कवि शरद पोख्रेलको  बहुचर्चित कविता ‘मेरा गणितका गुरू’ प्रस्तुत गरेका छौँ । याे  कविता  फेसबुक पेज तथा ग्रुपहरूमा देखापरिरहेको हुन्छ । विशेषतः यो कविता  जुनै बेलामा पनि चर्चामा आउने गर्छ । यही कविताकाे भावलाई समातेर धेरै कविताहरू लेखिने गरेका छन् । 

हामी हरेक साता यस्ता कविताहरूकाे खोजी गरेर यहाँहरूसमक्ष प्रस्तुत गर्ने प्रयास गर्नेछाैँ। )

 मेरा गणितका गुरु

मैले घोकेका साध्य र ज्यामितीहरू
आयतन र परिमितीहरू
अनि बिजगणितका डरलाग्दा
ए र बि का सूत्रहरू
खै कहाँ काम लाग्छन् ?
जो बिराउदा कैयौँ चोट पाएका थिए यी हातले
कैयौँ मुर्गा बनाइएका थिए चौरमा
कैयौ पटक उभ्याइएको थियो डेस्कमाथि
र जबर्जस्ती जान्ने बनाइएको थियो मलाई
मानौ कि मेरो जिन्दगी अब फलिफापको बाटोमा अगाडि लाग्यो

तर अचेल मलाई हजारबार जिन्दगीले फेल घोषणा गर्छ
हिसाब मिल्दै मिल्दैन जिन्दगीको
गुरु कुन सुत्र प्रयोग गरूँ म ?
बाका रसिला आँखाको आयतन कसरी निकाल्नू
आमाका हातको ठेलाको घनत्व कसरी नाप्नू
प्यारीको मेरो अभाव
र छोराको भोकको क्षेत्रफल निकाल्ने सूत्र के हो ?
हजुरआमाको लौरी कुन सूत्रले अड्याउनू ?

शरद पोख्रेल

माइनस् माइनस् प्लस हुने सूत्रमा
दुःख सुख हुन नसकेर फेरि दुःख नै हुनु पर्ने
आँसु हाँसो नभएर फेरि आँसु नै हुनु पर्ने ?
यो कुन नियम हो
जो मलाई सिकाउदै सिकाइएन ।

ब्ल्याकबोर्डको त्रिभुज र चतुर्भुज खुब नापियो
भित्री कोण र बाहिरी कोण नापियो
भुजा भुजाबाट नापियो
कोण कोणबाट नापियो
तर जिन्दगी त हजारौँ भुजाले बन्दो रैछ
न नापिन्छ न देखिन्छ कुनै दृश्यमा
न लेखिन्छ न छापिन्छ कुनै पानामा
भित्री कोण र बाहिरी कोण मात्र कहाँ
रहश्य र जालझेलका करोडौँ कोण हुँदा रैछन्
घात र प्रतिघातका अनगिन्ती भुजा हुँदा रैछन्
जसलाई अनुमानसम्म गराइएन कि
तैले यसरी पनि बाँच्नु पर्छ भनी।

सिङ्गो परिवार बन्धकीमा राखेर
हरियो पासपोर्ट बोकेर परदेश हिँडेको
लाहुरेको गरूङ्गो पाइलाको भार कुन ग्रामले नाप्छ
त्यो बिछोडिँदाको मुटुको गति कुन मिटरले नाप्छ
ती झरेका आँसु कुन लिटरले नाप्छ
त्यो चोटको गहिराइ कुन एकाइले नाप्छ
गुरू यसका कुनै सूत्र छैनन् ?

मेरा गणितका गुरु
मलाई माफ गर्नुहोस् है
तपाईँको गणितमा जसोतसो उत्तिर्ण भएको म
तर जिन्दगीको गणितमा
लज्जास्पद तरिकाले उत्तारित पनि हुन नसकेर
लत्तारित भैरहेको छु।

गुरु !
मिल्छ भने भाइ बहिनीहरूलाई
गणितसँग जिन्दगीको हिसाब पनि
थोरै थोरै सिकाइदिनुस् न है !

शरद पोख्रेल