६. (स्थानीय निकायको कार्यालयमा
भेला भएर निर्णय हुन्छ)

पञ्चायतको आँगनमा
आवाजहरु आजित छन् ।

कोही मुख छोपेर उभिएका छन् सरमले
कोही खुसखुस् गरिरहेका खिसीले
कोही आक्रोशित कोही दयासिक्त अनुहार बोकेर
रमिता जगाइरहेका अविरल ।

वीरेन्द्र !
जबरजस्ती लछारेर के पाइस् ?
पछारेर माटोमा गहिरो माया कसरी पाइस् ?
प्रीतको व्याख्या गरेर यो कस्तो माया लाइस् ?
के विजय पाइस्, के हार पाइस् ?
माया गर्छु भन्दैभन्दै अहिले लुटेर के पाइस् ?

ज्योति जङ्गल

सारा मानवताको खिल्ली भएर के जितिस्
यो बस्तीको इमान कसरी खल्बल्याइस् ?
एकछिनको अन्धताले विवेक कहाँ छोडिगइस्
जीवनबाट विनोद हरिस्
कुन अवतारमा बदलिइस् ?

हेर् तेरा निर्दयी आँखाले !
अङ्गीराको अर्धमृत शरीर हेर् !
रोइरहेको आत्मा हेर् !
त्यो भन्दा धेर चहर्याइरहेको
आहत हेर ! दर्द हेर् !
त्यो भन्दा धेर आजित भएको
ती आमाको अभिशाप हेर् !
मानिस बसिरहेको यो बस्तीमा
तँ दानव जन्मिएको आफैँलाई हेर् !
तैँले खसाएको हाम्रो बस्तीको सभ्यता हेर् !
यो हावाभरि उडिरहेको लाजैलाजको लहर हेर्
तँ के होस् तँ के भइस् ?
तेरो आफ्नै कुरुप अनुहार हेर् !

यो पञ्चायतको आदेश छ,
माफी माग् ! वीरेन्द्र !
नारीको घाइते अस्तित्त्वका लागि
आमाको मुटुको मर्मका लागि
यहाँ उभिएका सारा मानिसको झुकेको शिर
संसारभरका पुरूषमाथिको कलङ्क
यो गाउँको सम्मानका निम्ति
समाल् अब अङ्गीरालाई
मान्छे बन् र लैजा तेरो घर !

लैजा तेरो आँगनमा
र बसा लक्ष्मी जसरी यिनलाई
लैजा तेरो संसारमा
र सजा माया जसरी यिनलाई
पाउमा चढाउनू क्षमाका फूलहरु
आँखामा रङ्गाउनू स्नेहका मूलहरु
इन्द्रेनी भनिथिस् रे इन्द्रेनी नै बनाउनू
त्यसका सातै रङ्गले धोएर
तेरो पछुतो बगाउनू ।

छोरी ! जानू !
अब घाइते भएर यसरी हारेर मकहाँ नआउनू
उतै भिड्नू र जितेर जीवन जिउनू
उभ्याउनू दह्रा पाइलाहरु अडिग हुनू
स–साना पीडाहरुसँग स्वयम् लड्नू
कमजोर भयो भने थिचिन्छ जिन्दगी
यो पञ्चायतको आदेश मान्नू ।