दीपेन्द्र आचार्य

रङ्गहीन काँचले रङ्ग पक्डेको छ यसपटक
विदेशी ब्राण्डको रङ्ग
रातो
रातो रङ्गको नशाले टिल्ल छ विश्व ।

रङ्हीन भएर नै काँच छेपारो जस्तो छ
देशी दूध परेर त्यही काँच सेतो भो अहिले

काँच
गाउँ हो
देश हो
विश्व हो काँच
ट्रेड सेन्टर र होटेल ताज हो काँच

तर
काँच सडक जस्तो विल्कुल छैन
जो गाउँ पुग्दै पुग्दैन
काँच त गाउँ गाउँमा सजिएको छ अनुहारभरि
आमाहरुको विश्वासको सिँउदोभरि
सानुमती
स्कुल जाँदा बाटेको चुल्ठोभरि
अनि
ठूलीहरुले हातभरि सजाएको
हाम्रो रङ्गिन मानचित्रहरु फुट्दैछ्न आफैसँग ठोक्किएर
भो रोकिदेऊ यो फुटाइ
किनकी बुद्ध र अशोकहरुले देखेका छैनन्
धुलोले फुस्रै भएको हाम्रो अनुहार।

साँइली तयार राख रुमाल
उनेरको चश्मा पुछिदिनुछ अब हाम्ले।