भर्खरै सकिएको छ
देशभित्रका स्वस्तिकहरुको महायुद्ध
तर हामी
मरुभूमिको किनार बसेर
नतिजा गमिरहेका छौँ
अनागरिक झैँ भएर
हाम्रो उपादेयता भनेको
मात्र पसिना बगाउनु
नङ्ग्रा खियाउनु
ज्यान जोखिममा पार्नु
तर स्वस्तिक छुन नपाउनु
अनि
हरेक महिनाको १ तारेखमा
घरको मुहारमा खुसी छम्किनु मात्रै ?
हाम्रा लागि
सूर्य ग्रहण लागेसरी छ
न स्वदेशको घाम भाग्यमा छ
रुख उपलब्धि विहिन
न छहारी यो उष्ण परदेशमा
हँसिया हथौडा खिया परेका
नयाँ जमानाको पुराना प्रवृत्ति
कलम निब भाँचिएका जस्तै
न पौरख लेख्न सक्ने
न भाग्य बदलिन सक्ने ।
न समाजवाद
न साम्यवाद
न पुरातनवाद
हाम्रा लागि स्वस्तिक
मात्र नगदवाद
कमायो पठायो
खायो सकायो
न मौलिक हक अधिकार
न मताधिकारका हकदार
मात्र
विदेशीएका बेरोजगार ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला