शब्द-जादुगर्
शब्दका जादु गर
बहकिजालान् अन्त कतै
शब्दलाई काबू गर
खेलाऊ शब्द र
केलाऊ अक्षर
शब्द-जादुगर्
शब्दका जादु गर
बहकिजालान् अन्त कतै
शब्दलाई काबू गर
शब्द-माली तिमी
सम्हाली सम्हाली तिमी
शब्दमा शब्द मिलाई
शब्दमेला लगाऊ
यता राख शब्द कहिले
कहिले उता राख शब्द
कहिले राख पछाडि
कहिले शब्दलाई सामु गर
शब्द-जादूगर्
शब्दका जादु गर
निकाले सरी छु-मन्तरबाट
सोचका अन्तर कुन्तरबाट
नयाँ शब्द संयोजनहरू
नयाँ काव्य संरचनाहरू
मिलाई स्वर र व्यञ्जनहरू
हुलका हुल
नयाँ शब्द व्यञ्जनाहरू
र ऋचा चारू चारू रच
शब्द-जादुगर्
शब्दका जादु गर
शब्द-शिल्पी सिपालु तिमी
शब्दमाथि शब्द कुँदी
शब्दमाथि शब्द खिपी
घुमाऊ जादुका छडी
शब्द -शब्दमा जादु जडी
अमूर्ततामा पनि मूर्त मूर्ति देखियोस्
पत्थरमा पनि देउता भेटियोस्
अलिकति पनि
शब्द न फारू गर
शब्द-जादुगर्
शब्दका जादु गर
मीठा नादका शब्द-नदी
सरल सरस सलल सरस्वती
ओराल शब्दका भागीरथी
गतिमा शालीन स्वभाव होस्
भावको अभाव नहोस्
जुनै ताल होस्
जुनै लय होस्
जुनै छन्द होस्
वा स्वछन्द होस्
गति द्रुत होस्
या मन्द होस्
शब्दमा तिम्रो शासन
तिम्रो अनुशासन
जे जे चल्छ लागु गर
शब्द-जादुगर्
शब्दका जादु गर
बहकिजालान् अन्त कतै
शब्दलाई काबू गर ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।