तीर्थ गुरागाईँ

तिम्रो निम्ति मैले लेखेका हरेक पङ्क्ति
कविता बन्न नसक्लान्
मैले रचेका हरेक भाव कथा बन्न नसक्लान्
तिम्रो म प्रतिको प्रेम
मेरो तिमी प्रतिको पिरती
पक्कै कविता बन्नेछ कथा बन्नेछ
तिमीले चालेका पाइला गन्तव्यमा पुग्छन् पुग्दैनन्
मैले देखेका सपना विपना बन्छन् बन्दैनन्
तर
हाम्रो कल्पनामा सजिएको भरोसाको
एउटा सिङ्गो संसार
अवश्य बन्नेछ
तिमी बतासदेखि नडराउनु
पर्खालमा नछेकिनु

बतासलाई रोक्ने पर्खाल बनौँला
पर्खाललाई तोड्ने बतास बनौँला
तिमी सपना बुन्नु
विपना अँगाल्नु
यथार्थ अप्नाउनु

हरक्षण हरसम्भव तिम्रो भरोसा बनिदिँउला
तिमी हरेक दिनलाई सिङ्गो जीवन देख्नु
हरेक पलमा संघर्ष देख्नु
जीवन बाँचेर बाँच्नु मरेर पनि बाँच्नु
तिमी आस बन्नु,श्वास बन्नु
हर क्षणको विश्वास बन्नु
अनि
म लेखौँला तिम्रा कविता
म पढौँला तिम्रा कथा
समयका संघर्षका सपनाका विपनाका
भोगाइका सरलताका कठिनाइका स्नेहका
त्यसक्षण
पक्कै हरेक पङ्क्ति मीठा
कविता बन्नेछन्
हरेक भाव यथार्थ कथा बन्नेछन् ।

रालिङ्ग पूर्व सिक्किम