दु:खमा बल्लतल्ल जोडेको
सामलतुमलको ढाकर
परेली एक्कासी पहिरिएर
आँसुको कोसीले बगाएपछि
गडतीरमा आफूमात्रै उत्रेर
म खोज्दैछु जिन्दगानीको हटियाबजार
खराब ऋणी भएरै पनि
मैले फेरि बेसाउनुछ
अस्तिनै हराइगएका इच्छाहरू
मैले फेरि किन्नुछ
फेरि हराइजाने चाहनाहरू
पाकेटमा शिलबन्दी छन् कि
खोज्नुछ
भेटिए किन्नुछ
किन्न खोज्दाखोज्दै नसकेका
दुर्लभ खुसीहरू
घाँसे चौरमा खसेको बदामको दाना झैं
मैले खोज्नुछ
हराइगएका उल्लासका पानाहरू
गोठाले चौतारीमा हराएको सियो झैं
मैले निकाल्नुछ
दु:खमा सुख टाल्ने गुजाराका खाटाहरू
किन्नु त धेरै पो छ
तर किन्नै पर्नेछ
फेरि एउटा ढाकर
नाप्नुछ गडतीर
तर्नुछ कोसीको भङ्गालो
उक्लनुछ दु:खको पहाड
फेरि खस्ला परेली
फेरि उर्लेला आँसुको कोसी
फेरि बगिजाला ढाकर
जिन्दगानी बाँचुञ्जेल त
नाप्नै पर्नेछ गडतीर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला