प्रा. डा. अजय रिसाल
म
फगत म एक अंक गणित ।
अर्थात् हेड काउण्टमा परेको मात्र एक भोट,
मेरो बोलीको मोल छैन यहाँ
मेरो चेतनाको अस्तित्व छैन यता ।।
मिटिङमा बोलाइएको हुन्नँ म
बोलाइए नै पनि,
सोधिंदैन मेरो धारणा
मागिंदैन मेरो अभिव्यक्ति ।
मात्र,
निर्णय सुनाइन्छ
साक्षी किनारामा दस्तखत गराइन्छ ।।
सही धस्काउँदा,
काँपेका मेरा हात,
पसीनाले भिजेका हत्केला ।
कसैले देख्दैनन्,
देखे पनि अन्धा बनिदिने पो हुन् कि ?
जब्बरजस्ती लादिएका निर्णय पढ्नुपर्दा,
लरबरिएको मेरो स्वर,
सुकेको मेरो घाँटी ।
पत्तो पाउँन्नन् कोही,
थाहा पाए पनि गुपचुप पारिएको पो हो कि ?
म आफूलाई अगाडि सार्न पनि त सक्दिनँ,
“म यहाँ ज्यूँदोजाग्दो अवस्थामा छु” भन्न पनि त सक्दिनँ ।
अरुको खटनपटनमा चल्न अभिशप्त मेरो मस्तिष्क
पूर्णरुपमा खोलेर हिंड्न पनि त म सक्दिनँ ।।
के ठीक—के बेठीक? थाहा भने मलाई छ ।
तर बेठीक छोडेर ठीक रोज्न भने म पाउँदिन ।।
“पुराना भन्दा नयाँ अच्छा” सब पत्तो छ मलाई,
तर बासी नै रुचाउने मेरो मन,
ताजापन देखि तर्सन्छ ।
यथास्थितिमा नै रम्ने मेरो मन,
नौलोपन देखि झस्किन्छ ।।
कसैको आदेश नभई, चल्दैनन् मेरा हातखुट्टा ।
कसैले ईशारा नगरी, खुल्दैनन् मेरा ओठ ।।
मेरो विचारशक्तिमा मन्दी लागिसकेको छ ।
मेरो चिन्तनवृत्तिमा खडेरी परिसकेको छ ।।
म त हेड काउण्टमा परेको मात्र एक भोट पो हुँ त ।
आफ्नो केही पनि नभएको केवल अंकगणित मात्र पो हुँ त ।।
(डा. रिसाल मानसिक रोग विशेषज्ञ हुनुहुन्छ । उहाँ काठमाडौं विश्वविद्यालय अस्पतालमा कार्यरत हुनुहुन्छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।