मनिराम मञ्जिल

हार

समयले सबै ठीक पार्दै गयो
र अतीत बिस्तारै हार्दै गयो
हार्दै गए तिम्रा यादहरू
र हार्दै गए इच्छाहरू
हार्दै गयो वासना र
हारे कैयन सम्बन्धहरू
एक दिन मृत्युको पाउमा पसारिएर
जिन्दगीले पनि जीवन छोड्यो
र त्यही दिन
जिन्दगी पनि हार्यो समयसँग ।

चाहना

शृङ्गार्नु भनेको
बास्तबिकतालाई लुकाउनु हो
भएका कुरुपताहरू
छुपाउनु हो
भो म त्यस्तो शृङ्गार गर्न चाहान्न
म त कुरुपताहरूलाई
मेटाउन चाहान्छु
दाग हटाउन चाहान्छु
छुपाउन होइन र लुकाउन होइन ।

तिमी र ऐना

ऐना जस्तै छु भन्थ्यौ
जे छु यथार्थ देखाउछु भन्थ्यौ
मैले बुझे प्रिय !
हो तिमी साँच्चै ऐना जस्तै रहेछौ
मैले हेरे हेर्छ्यौ
मैले गाली गरे गर्छ्यौ
म रिसाए रिसाउछ्यौ
हो ऐना पनि म रिसाए मात्र रिसाउछ
म हाँसे हाँस्छ र म नाँचे नाँच्छ

म कहिल्यै ऐना हाँसेपछि हाँसेको छैन
ऐना नाचेपछि नाचेको छैन
हो तिमी साँच्चै ऐना जस्तै रहेछौ
त्यसैले त मैले नबोलाए बोल्दिनौ
र बोलाए मात्र बोल्छ्यौ
साँच्चै तिमी ऐना जस्तै रहेछौ।

तस्बिर

तिमी मुस्कुराइरहेको
तिम्रो तस्बिर
कहिल्यै मुस्कुराउन सकेन
जब मुस्कुराइरहेका
फूलहरूको माला
तिम्रो तस्बिर माथि पर्यो।

व्यापार

उसले पिँन्जडाको व्यापार गर्यो
निकै पैसा कमायो
र धनी भयो
अन्ततः ऊ विश्वभ्रमणको
निम्ति निस्कियो।

बगर

सोध्यो कसैले बगरलाई
तिम्रो समिपै कलकल नदी
सदाबहार बगिरहदा पनि
तिमी किन यति बिघ्न
उजाड र निर्जीव छौ ?
कोही त बुझाइदेऊ उसलाई
कि बगर नदीकै कारण
बगर भएको हो ।

उचाइ

फरक यत्ति छ तिमी र ऊमा
ऊ आकाश छुने उचाइको
कठिन यात्राको यात्री बन्यो
र तिमी आकाश खस्ने
झूटो कल्पनामा
जीवन बिताइदियौ।

मूल्य

तिमी आफै भन्छौ
मरेर लानु के छ र आखिर
फेरि किन ?
कात्रोको मूल्य बढ्दा पनि
बिस्मात गरिरहेछौ !

बाग्लुङ , हाल काठमाडौँ