राजु रायमाझी

छोरो चार महिनाको भयो राजु राय
खुसी मनभरि छायो ।

छोरोलाई हेर्छु ऊ हाँस्छ ।
म गदगद् हुन्छु मलाई हेरेर हाँस्यो भनेर
तर सबैलाई हेरेर हाँस्छ ।

बाबा मामु बुवा मुमा सबैलाई समान देख्छ
न उसको मनमा कुनै कुण्ठा छ न कुनै द्वेष
आइया हुँदा रुन्छ खुसी हुँदा हाँस्छ
ऊ सबैलाई बराबर देख्छ ।

महिला पुरुष जात धर्म कम्युनिष्ट डेमोक्र्याट
ऊ केही जान्दैन
त्यसैले त ऊ पल्लो घरको कृष्चियन दिदीलाई
देख्दा नि मुसुक्क हाँस्छ
उसलाई को हिन्दु को कृष्चियन
सबैलाई बराबर देख्छ ।

छोरो मेरो डोपामिन हो
सेरोदिनिन् पनि
मेरो खुसीको सबै न्यूरो केमिकल

विश्वकप चलिरहेको छ
मेस्सी गोल म चिच्याँउछु
ऊ मुसुक्क हाँस्छ
अर्को दिन भिनिसियस कस्तो मिस्
गरेको म चिच्चाँउछु
ऊ फेरी मुसुक्क हाँस्छ ।

उसलाई के ब्राजिल के अर्जेन्टिना
सबैलाई बराबर देख्छ ।

छोरोलाई हेर्छु ऊ हाँस्छ
म गदगद् हुन्छु मलाई हेरेर हाँस्यो भनेर
तर सबैलाई बराबर देख्छ ।