अङ्गीरालाई देखेपछि आमा शान्ति देवी ।

अङ्गीरा !
कहाँ थिइस् यत्तिका बेर ?
के भो अनुहारमा ?
कसरी पछारिइस् र भइरहेछस् लङ्गडो
कपडाभरि धुलोमैलो बोकेर किन आइस्
कसरी मैलियो तेरो उज्यालो अनुहार ?

छोरी ! तँलाई देखेपछि त हो
मेरा आँखाहरुमा ज्योति भरिने,
ओइलाएको ज्यानमा ज्यान भरिने ।
तँ त बत्ती होस् यो घरको
तँ त घाम होस् मेरो मनको
मर्न लागेका मेरा अङ्गहरुमा
आशा सञ्चार गर्ने तँ त अमृत होस् ।

ज्योति जङ्गल

तँ आफैँ लरबराएर हिँडिस् यसरी भने
तँ आफैँ धिपधिप भएर निभिस् यसरी भने
आधा बाँचेकी म
आधा जिउँदो मेरो जीवन
त्यसै शून्य भइदिन्छ
त्यसै झ्याप्प निभिदिन्छ
मेरो अघिपछि घुमिहिँड्ने
मृगजस्ती तँ चञ्चल थिइस्
मेरा अघिपछि गरिरहने
छायाजस्ती तँ हरपल थिइस्
तँ त मेरा गाँससँग थिइस्
तँ त मेरा साथसँग थिइस्
कसले निचोर्यो तँलाई ?

बोल् न ! छोरी !
कसले घाइते बनायो तँलाई
को हो कातिल ?
कहाँ छ त्यो ?

कसरी सहिरहिस् तैँले यो
र प्रतिकार गरिनस् ?
कसरी हेरिरहिस् तैले
र प्रहार गरिनस् ?

चौधरी !
मेरी छोरीलाई हेर !
मेरी छोरीको योनिबाट बगिरहेको रगत हेर !
मेरी छोरीको आँखाबाट झरिरहेको रगत हेर !
मेरो दुनियाँ चलाउने एउटा काँध
मेरी छोरीको काँध भाँचिएको हेर !

हेर ! दनदनी बलेका मेरा हातको आगो हेर
हेर ! मानव भएर गरेको यो पाषाण कुकृत्य हेर
दुनियाँलाई कुरुप बनाउने मानिसको यो आघात हेर ।

कसले उधारिरहेछ छोरीहरुको आँट
कसले चिथोरिरहेछ छोरीहरुको आँत ?
कहीँ मायाको आवरणमा
कहीँ बलको आवरणमा
कसरी लुटिइरहेका छन् छोरी
यो रमिता प्रत्यक्ष हेर !

चौधरी !
तिम्रो अधीनमा छ कानुन
बसाऊ एउटा थिति
र सजाय गर दोषीलाई
चौधरी !
तिम्रा पाइलासँग उठ्छ समानताको लय,
उठाऊ एउटा कदम
र न्याय गर सारा छोरीलाई
फैसलाको पल्ला थिर पारेर
उचाल तिम्रो अभिभावकको अँगालो
समान आँखाले उचाल,
समान स्नेह प्रदान गर ।

मेरी छोरीको निलो ओठमा
न्यायको रङ भरिदेऊ
खोपिल्टो परेर बन्द भएको यो मुटुको
धुकधुकी फिर्ता देऊ ।