चिकित्सक बनेर
रोगीको खोजीमा
अभियन्ता बनेर
न्यायको खोजीमा
घण्टी बजाउँदै
राजनीतिमा उदायौ
आँखा डुलायौ
सृष्टिको अनेक उपमाले
भोग्दै गरेको पीडामा
मलहम बनेर
पाइला कुदायौ
चेली तोसिमा !
दूध पिएर
विष वमन गर्ने बिरुद्ध
होसियार गराऊ है !
जीवन रक्षाका लागि
प्रत्येक ढुकढुकीमा
जनचेतनाको
सचेतनाको
शिक्षाको लहर
निरन्तर फैलाऊ है !
पहिले र अहिले झैँ
असंख्य हिंसाको रापमा
दाइजोको सन्तापमा
जीवन ह्वारह्वारी
नजलोस् है
चेली तोसिमा !
पूर्वजले झैँ
अँध्यारोलाई न सराप्नु है
सर्वत्र अवरोध देखेर
अवरुद्ध नहुनु
टुहुराको खेती गर्नेका अगाडि
बाहिरी श्रृङ्गारको
कुरा काट्नेका अगाडि
मौरी र कमिलालाई
चिलगाडी चढाएर
उनीहरूको रेमिट्यान्समा
संघीयताको चोटा कोठामा
ब्वाँसोसँग चोचोमोचो मिलाई
चौटा लुछ्दै
सगरमाथालाई
बुद्धलाई
मेचीमहाकालीलाई
लज्जित पार्दै
मानव हृदयमा भन्दा
युद्धको हाँगाभरि
शान्ति देख्ने
पुर्खाको पहिचान मेट्ने
राजनीति तमासा फुलाउँदै
आँगन विरानो पार्नेका अगाडि
निडर अनि सशक्त बनेर
चौतर्फी अभियान चलाऊ है
मतपेटिका र मतपत्र
बेलैमा पुग्ने
त्यो दूरदराज वस्तीमा
तिम्रा कवितामा शयर गराउँदै
पाठ्यपुस्तक पठाऊ है !
बेथितिपूर्ण तामझाम
आठानाको कारोबार
रूपैयाँको खानपान
गर्नेका गालामा
कविताको बिम्ब जस्तै
प्रतीकात्मक झापडले
निर्बाध रुपमा
होश खुल्ने गरी
हानिराख्नु है !
तिम्रा त्यो कलिला पैतालामा
कुनै लाञ्छनाको काँडा नगढून्
चेली तोसिमा !
तिमीलाई
प्रकृतिको सिउँदो सजाउने
लालीगुराँस जस्तै शुभकामना
गजुरी- धादिङ्ग
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।