मनोजबाबु पनेरु

छोरोले मलाई पापा भन्छ
अझ माया गरेर लाडिएर
पापी भन्छ
म झसङ्ग हुन्छु
हौ यो पिउसोले कसरी थाह पायो ?
अर्थ बुझेरै हो त
यसले मलाई पापी किन भन्छ ?

फेसबुकको टाइमलाइनमा
मेरा कुल क्यान्डिटस हेरेर
मख्ख पर्नेहरु
गफ गाफमा
मेरा स्टनिङ्ग योजनाहरु सुनेर
बक्क पर्नेहरु
समग्रमा
मेरो अथाह ज्ञान देखेर
मेरो विकराल क्षमता देखेर
छक्क पर्नेहरु
उमेरसँगै घट्दै जाँदा
ऐन मौका
ऊ छोरो टुपलुक्क जन्मियो ।

अहिले म उसैका
क्युट क्यान्डिटसटहरु
फेसबुक टाइमलाइनमा हालेर
लाइक्स र लभ रियाक्ट बटुल्छु
र कमेन्ट गन्दै
मेरा बैयक्तिक खाताकात हुन्
ठानेर मख्ख पर्छु ।

हजारौँ स्टनिङ्ग योजनाहरु
आफूले उसै बेवारिसे छाडेर
केही गह्रौ योजनाहरु
खेल्दै गरेको छोरोमा
थपक्क सारेर
आफ्नो कल्पनासिलतालाई
ब्रमान्डको अन्तिम सिमाना मानेर
छोरो यो बन्ला
छोरो त्यो बन्ला
छोरो हुन नसकेको
मै कसो नबन्ला
उत्तानो परेर
सोम शर्मा सपना देख्दै
म बक्क पर्छु ।

जिब्रो पड्काएर
ताली बजाउदै
तराबाजी लै लै गाएको
दुई खुट्टामा उभिएर
नलडी ठम ठम हिँडेको
अझ
उसैलाई काँधमा राखेर
घोडा झैं हिँन्हिनाउँदै कुद्न सकेको
ऊ ननिदाउँन्जेल
एकादेशका सयौँ कथा भन्न जानेको
आदि इत्यादी
यावत जानेको
यावत गरेको
देखेर जब ऊ
छक्क पर्छ
र मलाई हेर्छ
उसका आँखामा
म देख्छु कि
ऊ मान्छ
ऊ ठान्छ

अथाह ज्ञान र विकराल क्षमताले
परिपूर्ण हुँ
अपेक्षा र यथार्थ बीचको
पिरो खाडलले
मिड लाइफ क्राइसिसको नाममा
मरिचिदै गएको मेरो इगो
उसका अघि
आफू बडेमानको महशुस गरेर
फुलेल हुन्छ
ऊ सँग खेल्नु
ऊ सँग खेल्नु होइन
त्यो मेरो थेरापी सेसन हो ।

कसरी पो बुझेछ
म उसलाई हुर्काइ रहेको नाममा
आफैलाई उसमा कलमी गरिरहेछु
त्यसैले पो होकी
ऊ छोरो मलाई पापी भन्छ ।