डा. मुकुन्द पथिक 

जान्दैन थाक्न समुद्री छाल, सक्रिय उस्तै छ
रातमा चन्द्र, दिउँसो घाम, जवानी जस्तै छ ।

कम्मर भाँची नाच्दछ कैले, धर्ती नै हँसाइ
गाउँछ गीत सुरिलो भाका, बस्ती नै नचाइ
सुन्दर रूप, हँसिलो मुख, क्या राम्रो जुरेको
कविको मन कलम राम्रो, कविता फुरेको ।

मस्तले झुम्छन् बैँसालु जोडी, आँफैलाई बिर्सेर
छालमा डुब्छन् छालमै रम्छन्, संसार सम्झेर
जान्दैन लिन फूलको थुङ्गो, खेलाइ हातमा
चौडा छ छाती उद्देश्य ठूलो, सुत्दैन रातमा ।

जान्दैन थाक्न समुद्री छाल, सक्रिय उस्तै छ
रातमा चन्द्र, दिउँसो घाम, जवानी जस्तै छ ।