म, बिसे नगर्ची, बडामहाराज सरकारको सेवक,
“मैले उठाएको एक -एक रुपियाँबाट
किनेको हतियारले जितेको गोर्खा राज्य,
‘विशाल नेपाल’ झन्डै २६० वर्षपछि याद आयो,
अचानक ब्युझिएँ चीरनिन्द्राबाट !!”
हो, बांगे सार्की पनि छटपटाइरहेर सोध्दैछ…
किन अझै पनि नेपाल राज्यमा हामी ‘मान्छे’ भएनौँ ?
उस्तै छ हाम्रो हाल मेरो देश नेपाल l
हाम्रा सन्तान दरसन्ततिहरुले
बराजुको कपडा सिलाइदिएकै हो,
गर्ने कम गरे नि नगर्ने काम गरे नि,
जता पायो त्यतै प्वाल पारे पनि,
जसो तसो बाबुसाहेबको लाज छोपेकै हो
खै, कहाँ गल्ती भो कुन्नी ?
आफ्नै सीपले बनाएको हतियार
आज आफ्नै हत्यारा बन्यो !
आफ्नै हातले बुनेको कपडा आफ्नै पासो भयो !
सेवा त गरेकै हो महाराजाहरुको,
निःसन्देह आदेश पालना भएकै हो राणासाबहरुको,
बन्दुक बोक्ने र गोली ठोक्ने पनि गरेकै हो,
जिन्दावाद र मुर्दावादमा अगाडि लागेकै हो,
कसो पर्यो कुन्नी !
आज आफ्नै कमरेडसाबले खिसिट्युरी गरिबक्स्येछ
बरजुहरुलाई बाबुसाहेब र बाबुसाहेबलाई महाराजा बनाएकै हो,
एक गिलास र दुइटा फिर्का चौटामा आफू भर्याङ बनेर माथि पुराएकै हो,
खै कहाँ गल्ती भो कुन्नी !
आफ्नै साहेबले औरिकाको कुरा गर्नु भएछ
यमलोकमा त हिटलरसाब, मुसोलिनी, बिन लादेन लगायत धेरै हुनुहुन्छ,
यहुदी, हुतु र तुत्सीको, रोहिंग्या, काला र गोराको नि कुरा सुन्छौँ,
अब्राहम लिंकन, मार्टिन लुथर, कार्ल मार्क्स, महात्मा गान्धी, पुष्पलाल सबैको कुरा सुन्छौँl
बाबुसाहेब कमरेडहरु भनिसिन्थ्यो:
“संसारमा मानिस मात्र एक अन्तर्राष्ट्रिय जाति हुनेछ”,
खै कहाँ गल्ती भो कुन्नी ! बाबुसाहेबले चित्त दुखाउनु भयोl
फेरि मनिराम गाइने र बिसे नगर्ची उत्तेजित हुन थाले,
खबरदार ! खबरदार !! खबरदार !!!
त्यो बबुरो नवराजले बाबुसाहेबको छोरी मन पराएको न हो…
उफ !! विभेद !! असमानता !! अमानवीय क्रुर ! नरसंहार !!
हामी आफ्नो सीपमा बाँचेका मान्छे,
सपनालाई सिरानीमा राखी साँचेका मान्छे,
हजुरहरुको बहादुरीको सामना गर्न नसकौंला,
हजुरको मर्जी बक्स भएअनुसार तलुवा बन्न नसकौंला,
बिन्ती बन्द होस् यो अन्याय र अत्याचार,
अब कुनै निर्मला बन्न नपरोस्,
नपरोस्, नवराज बिक जस्ता छोरा गुमाउनु,
कुनै सम्झनालाई एसिड आक्रमण नहोस्,
बिन्ती हामी मानव नै हो बराजु जस्तै,
बाबुसाहेबको जस्तै रगत, उस्तै भावना,
बिन्ती बुझ्नु मानव नै एक मात्र जाति हो
हामी पनि मानिस नै होl
(भुसाल श्री जनकल्याण मा.वि. बौद्ध, काठमाडौँमा शिक्षण गर्छन्।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।