बलिया पाँसुला र तिघ्राले टेकेका
कुम जोरेका, नजोरेका, हलक्क हल्किएका
होचा, बामपुड्का, हक्की, उत्ताउला, तन्देरी
दाह्री झुस्लुङ्ग पालेका, खौरेका
छातीमा रौं भएका, नभएका,
टोपीमा फूल सिउरेका, नसिउरेका
केही टिम घोप्टिएका,
पानीमा अनुहार नियाल्न निहुरिएका,
शिर उठाएर के के हेरिरहेका
अज्ञात कालदेखि हातेमालोमा ठिङ्क ठिङ्ग छन्
‘टिस्टा किनारका चट्टानहरू ।
उँभो लेकबाट गुराँसे बास्ना बोकी
लोकधूनमा लच्किँदै, मस्किँदै
घुम्तीमा लुक्दै, फेरि फुत्त निस्कँदै
बुट्यानसँग, वनसँग, पहाडसँग कुक्कु हा खेल्दै
आएको छ टिस्टा नाउँ ओठमा खिलेर रङ्कितको ।
टुङ्गोमा आइपुग्न ढिलाएकोमा
ठुस्किएको रङ्गितलाई माफ माग्दै
फेरि रिझाउँदै “आच्चुले’ गाउँदै
रङ्कितको आलिङ्गनमा दगुर्दै मिसिएको छ टिस्टा
मिसिँदै दगुरेको छ कहाँ न पुगूँला भनेर ।
टिस्टा र रङ्कितको प्रणयकेलि
निर्निमेष नियाल्दै उभिएका छन्
बूढा पहाडहरू ।
चकचके हावाले बादलको फेटो लाइदिन्छ कहिले पहाडलाई ।
कहिले आएर नुहाइदिन्छ।
कहिले जिस्क्याइराखेर फेरि भाग्छ ।
चुचुराहरू टोपी खोलेर घाम थाप्छन्।
आङभरि घाम ताप्छन् ।
कहिले त फेरि कम्बल ओढेर कुइराको
दिनभरिको बेलिबिस्तार
साँझपख साथीहरूलाई सुनाउँछन्।
उकालोमा हिँड्दाहिँड्दै सडिझर्नेहरूका कथा ।
भाग्यका मुडा गिँड्दागिँड्दै लडिमर्नेहरूका कथा ।
फली फुली फक्रिई हलक्क बड्नेहरूका कथा ।
पहाडलाई के छ र, हेर्नु बस् हेरिरहनु नै दिनचर्या
कि कसरी बनिन्छन् अनि फुट्छन्
फुट्छन् अनि फेरि बनिन्छन्
टिस्टाको पानीमा
जिन्दगीका फोकाहरू।
फोकामाथि फोकाहरू ।
ऋतुमाथि ऋतुहरू।
अयनमाथि अयनहरू ।
बस साक्षी बसिरहनु हो पहाड ।
‘नरो है नानी बनझाँक्रीले लैजाला’
कोक्रामा अल्झेका अल्झै छन् दन्त्यकथाहरू ।
अचेल किन हो
टिप्दैन वनझाँक्रीले कसैलाई पनि ।
सिकाउँदै टुनामुना
बनाउँदै जानापा फेदाङमाहरू
कथाहरू बगिरहेछन् टिस्टैटिस्टा ।
आयुहरू बगिरहेछन् टिस्टैटिस्टा ।
बगिरहेछन् हाडहरू, जोवनहरू, पसिनाहरू ।
उम्रिरहेछन् मुनाहरू, गीतहरू, जपना सपनाहरू ।
माथि आशीर्वाद मुद्रामा पहाडहरू
तल नृत्यमुद्रामा धानबारी, खोला, गौचर।
खोलालाई खुट्टामा बगाउँदै
पाखुराले कोदोका दाना सम्हाल्दै
उभिएका पहाडहरू
पुराना गीतले एकाकी धपाइरहन्छन्।
कटुवा बेह्रेर ओठले फुस्फुस् पार्दै
कम्मरमा बेह्रिएका डोरेटाहरूमा
डराएको हरिणका आँखा हेर्छन् ।
गाईबस्तु, झोपडी र मानिसका अनुहार पढ्छन् ।
तपस्यामा कल्प कल्प जुटेका
हठयोगी पहाडहरू अक्काशलाई हेर्छन्
कि पहाडदेखि स्वर्ग कति टाढा पर्छ?
बूढा काँधहरूमा
आकाशको भारी
अनि पर्खाइ, अनन्त पर्खाइ।
सद्यस्नाता शिखरमाता सखारै
किरणका माला बुन्छिन्, आँखा सेक्छिन्
निधारमा अवीर लाउँछिन्
र बाँच्छिन् पर्वतपुराण ।
तल उत्ताउलिँदै बगिरहन्छ टिस्टा चट्टानका खुट्टैखुट्टा
नजरबन्द पहाड
र बिमार सुनाखरीको कथा सुनाउन
मधेशका फाँटहरूलाई… ।
(‘शब्दहरूको पुनर्वास’बाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।