सुमन घिमिरे

आज,
मलाई सम्झन मन लाग्यो
मलाई फर्कन मन लाग्यो
त्यही पुरानै स्थानमा
जहाँ तिम्रो र मेरो
पहिलो भेट भएको थियो।

पहिलो भेटमै
वा
पहिलो हेराईमै
मैले अहिलेसम्म
कुनै पनि चिज मन पराएको थिइनँ
तर तिमी देखेपछि,
म तिम्रो प्रेममा हारेँ,
तिमीमा त्यस्तो के जादु थियो
म त तिम्रो प्रेम वासनामा डुबेर
खै कसरी माया गर्छु भन्ने आँट गरेँ,
प्रतिउत्तरमा,
तिमीले स्वीकार्यौ।

हप्ता बित्यो
महिना बित्यो
वर्ष नै बित्यो ।
हाम्रो प्रेम कहानीमा
कथाहरुको पाना थपिंदै गए
यस्तो कि
हाम्रो प्रेम कहानी
एउटा गतिलो उपन्यास नै बन्यो ।

न मैले याद गरेँ
न तिमीले याद गर्यौ,
उपन्यासका पानाहरु
बिस्तारै बिस्तारै
उप्कदैँउप्कदैँ गएछ्न्,
अन्त्यमा त्यो उपन्यासको
बाहिरी गातो मात्र बाँकी रहेछ।

आज तिमी जाने दिन,
छुट्टिनुअघि
आँखा अतृप्त नहुन्जेल
तिम्रो तस्बिर फेरि कैद गर्न मन थियो
तर,
तिमीलाई भेट्ने एउटै बाटो
कालिखोलाको पहिरोले बन्द गर्देको छ,
तिमीलाई भेटेरै बिदा गर्ने,
कथा मात्र भयो ।

पीर पो लाग्न थालेको छ,
उमेर बढेसँगै,
कुनै दिन भेट्नै नसक्ने भएँ भने,
तिमीलाई चिन्नै नसक्ने भएँ भने,
मनमा यस्तो कुरा खेल्छ कि
छुट्टिनुअघि भेटेको भए ?