तिम्रा सपनीहरुमा रङ्ग भर्दा भर्दै
आफ्नो क्यानभास रित्तिएको
थाहै भएन !
तिम्रो गन्तव्य सम्म तिमीलाई
दोर्याउदा दोर्याउदै आफ्नो गन्तव्य कतै छुटिसकेछ
थाहै भएन ।
ती यात्राका डोबहरु अझै आलै छन् मनका बगरहरुमा
तिमीले त उतै कतै छाडी आइछौ
थाहै भएन ।
तिम्रा रहर अनि खुसीहरुमा हराउदा हराउदै
आफ्ना खुसीका टुक्राहरु कतै छुटिगएछन्
थाहै भएन ।
तिम्रा नयन अनि मृदु मुस्कानमा संसार देख्ने म
तिम्रो एक मुस्कान देख्ने रहर मेरो फजुल फर्माइस भैसकेछ
थाहै भएन ।
थाहा छैन सादा भैसकेका ती मेरा सपनीहरुमा
कुन क्यानभासको रङ्गहरु पोतूँ ?
छुटिसकेका ती मेरा गन्तव्यमा कुन गोरेटो हुँदै पुगूँ ?
अनि ओइलिएको यो मनमा कहाँबाट यौवन ल्याई भरूँ ?
अनि भन
तिम्रो लागि तीतो बनीसकेको म
कुन स्वाद कहाँबाट ल्याई मीठो बनु ?
नारायण सुवेदी
किर्तीपुर काठमाडौँ
२०७९/०८/१७
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला