हाओ साइँला !
अब त यो ज्यान पनि
शिशिर यामको पात झरी मरेको रुखजस्तै
सिङ्ग्रिङ्गै भको छ हाओ
रुखमा त
आशा छ सम्भावनाका पालुवा र फूल फुल्ने
पक्का छ वसन्तमा धपक्कै बलेर बैँस फर्कने
खै मेरो त
तिम्रो दाजु खाडी पसेपछि
सम्झिँदै सम्झेन
हामी दुई जोडिएपछिका सुनौला रात
ओइली झरेको फूल
हावा खुस्केको बेलुन
लाग्छ आजकाल त
यो ज्यान नि साइँला !
ऊ त्यो भोगटेको रुख
लत्रिएजस्तै भाको छ
खेतबारीको कथा सुनाइ नसक्नु छ
भारापर्म लाउने पुराना हलीहरू
आफैँ खेत जोडेपछि चटक्कै बिर्से आउन ।
पूरै बँझियो गैरीखेत
भेटिन्न भनेको बेला हली
हलीबिनाको खेत
खेत हुँदो रैनछ हाओ साइँला !
मुलायम दुबोको सट्टा
खेतको डिल र आलीभरी
काँसघारीले ढाकेको छ
मान्छे भेटिँदैन गोडमेल गर्ने
बगरै बगर भको छ मुहानमा पानी सुकेर ।
आजकाल त आउनु पनि डालीमा चरा पनि
रमाउन छाडेछन् क्यार !
डाली पनि त
रुखोमा उम्रिएको निगुरोजस्तै भइगए
मुहानै सुकेपछि त कमिला पनि कुद्नु छाडे है साइँला !
यो ज्यान कहाँ हो रछ र हाओ साइँला !
बूढो गुराँसजस्तो
वसन्तमा बैँस फर्काउने ?
आवश्यकतामा यौवनको सारङ्गी नरेटिएपछि
कहाँ बज्दो रछ र
बैँसको मीठो गीत ?
अरु त तेस्तै हो साइँला !
तिम्रो दाजु आएपछि
ठूलो आशा थ्यो
गैरी खेत फाँडेर
हली लाउने
फसल उमार्ने
अब त
कहिल्यै नफुट्ने गरी
सुकी गयो मुहान
थुइय्या नाथे रहर !
भाउजूको विलाप सुनिसकेपछि
मुसुमुसु हाँस्तै
आधा बुझेर आधा नबुझी
दाहिने हातको माझी औँलाले
खोरेको जाँडमा चोब्दै भन्यो साइँलाले
“हाओ भौजू !
आजकाल त थि पनि
किन पहिलेजस्तो
मीठो हुनु छाड्यो हाओ ?”
( थि = जाँड, भौजू = भाउजू , खोरे = जाँड खाने सेतो बटुका , फसल = अन्न )
आरपी गाउँले
आठराई २ तेह्रथुम
9840058414
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।