(‘भाइरल कविता’अन्तर्गत यसपटक बहुचर्चित कवि मञ्जुलको  बहुचर्चित कविता ‘आकाश’ प्रस्तुत गरेका छौँ । याे  कविता  फेसबुक पेज तथा ग्रुपहरूमा देखापरिरहेको हुन्छ । विशेषतः यो कविता  जुनै बेलामा पनि चर्चामा आउने गर्छ । यही कविताकाे भावलाई समातेर धेरै कविताहरू लेखिने गरेका छन् । 

हामी हरेक साता यस्ता कविताहरूकाे खोजी गरेर यहाँहरूसमक्ष प्रस्तुत गर्ने प्रयास गर्नेछाैँ। )

 

आकाश

एक दिन
आकाश मेरो चियाको कपमा लुक्न आयो
मैले त्यसलाई हृदयभित्र राख्न खोजेँ
र छिटोछिटो चिया पिएँ
तर कप रित्तो भयो र आकाश फेरि उडेर माथि गयो

फेरि मैले कपमा चिया भरेँ
आकाश फेरि कपमा भन्यो
कसैले भन्यो “ए गोजीमा हाल,
लुकाऊ न लुकाऊ”

तर म तेजिलो घामले आफूलाई डढाउन चाहन्नथेँ
सघन वर्षातले आफूलाई रुझाउन चाहन्नथेँ
आँधीहुरीले रन्थनिन चाहन्नथेँ
त्यत्तिका विघ्न ताराहरू पनि मेरो लागि धेरै हुन्थे
म ती जम्मैलाई सोहोरेर झोलामा बोक्न सक्तिनथेँ

मञ्जुल

कसैले भन्यो
“ए ! आँट गर,
आकाशसँग बाँच्नु भनेको ठूलो कुरा हो”
तर मैले आकाशमा बिजुली चम्केको सम्झेँ
वज्र परेको सम्झेँ

एकबारको यो जुनीमा
मलाई यी अनावश्यक खतराहरू मोल्न मन लागेन
एक बट्टा सिग्रेट बोक्न नचाहने मैले
अलिकति ल्वाङ र सुकुमेल बोक्न नचाहने मैले
आकाश बोक्ने किन चाहा गर्नु ?

मैले भनेँ- “धर्तीलाई घाम र जून चाहिन्छ
धर्तीलाई उज्यालो चाहिन्छ”
त्यसैले मैले आकाशलाई फेरि माथि फ्याँकिदिएँ ।