नारायण भण्डारी

शक्तिको उन्मादले
सत्ताको स्वाद चाख्न
रगतको भर्याङ बनाएर
बलिदानको खुड्किलो टेक्दै
आएको हुँ
कमजोर नसम्झ

मसँग अझै पनि
उन्माद बाँकी छ
हुङ्कार बाँकी छ
अहंकार बाँकी छ
सामर्थ्य अझै बाँकी छ
टेढीएका तिम्रा आँखा
सीधा पार्ने

रोकेको छैन मैले युद्ध
बिसाएको मात्र हो हतियार
अनिँदो सपना मेरो
कस्तूरी जसरी अझै पनि
मगमगाइरहेछ
थाहा छ मलाई कस्तूरी
कहाँ छ भन्ने

होस् गर तिमी
रगतको गन्ध
शासकको सुगन्ध हो
म मृग हुँ
कस्तूरी मेरो कमजोरी हो
सत्ता मेरो कस्तूरी हो
मेरो दौडमा तिमी
मिचिनुभन्दा अघि नै
तयार भएर बस्नु मेरो स्वागत गर्न ।

खाँदबारी,८,संखुवासभा