ऋजन मायालु

भाग्यले जुराएपछि न रहेछ
सात फेरो अग्निमा घुम्नु
घुम्नु सम्बन्धमा
अनि बाँधिनु मङ्गलसूत्रको दोभानमा
अनि बन्छ सम्बन्ध
माई र जोगमाईको जस्तो

टाढाटाढा धेरै टाढाबाट
अचानक म खसेँ
र बज्रिएँ तिमीमा
म वर्षा भएपछि मात्र हो
तिमीले छाता ओढ्ने बहाना बनाउन थालेकी
पानी बसिरहे
छाता छिचोलेर भए नि पानी चुहिँदो रहेछ
र त म चुहिएँ तिमीमा

साइँली !
भूल भएछ ऊ बेला
नजरको निशानाले सीमाना काट्नु
सीमाना काटेर टाँकीको फूलमा प्रेम बस्नु
तिमीले पनि नाईँ भनिनौ
म पनि पछि हटिनँ

फूल बनेर
आँखाको बाटो गरी
मनमा लम्केर
तिमी नै हौ काँडाले घोच्ने
म पनि हुँला
तिम्रो हृदय छियाछिया पार्ने
युद्ध आखिर हुनु नै रहेछ
सीमाना वारिपारि भावनाको
गोला बारुद चल्न थालेपछि
छातीमा आवेगको ज्वालामुखी
बल्न थालेपछि
सम्बन्ध बन्न खोज्दाखोज्दै
खरानी भएपछि
आज मात्र बुझ्दैछु
मौनता पनि बोल्दोरहेछ
ओठले बोल्न बिर्सेपछि
परेलीले बोल्न थाल्दोरहेछ

आमा !
कुरुपताको भाकामा म जन्मेपछि
गरिब गीत गाउँदा गाउँदै पनि
लहरे खोकी जस्तो तिम्रो संवेदना
कहिल्यै टुट्न दिइनौ तिमीले
र त मलाई जन्मायौ
जन्मिएँ आमा म
म प्रेमी छोरो जन्मिएछु
तिम्रो जस्तो प्रेम गर्न नसक्ने

प्रिय
झरना बनेर पछारिएँ पछि प्रेममा
हामी छुट्टियौँ बेग्लाबेग्लै
तिमी पूर्व फर्कियौ
म पश्चिम फर्किएँ
एक चोटि मिसिइ सकेपछि माई जोगमाई
कसैले छुटाउन सकेनन् यादहरु
म माई भए पनि
छातीभरि जोगमाई बोकेर हिँडिरहेछु
तिमी जोगमाई भए पनि
छातीभरि माई बोकेर
हिँडिरहेकी छ्यौ होली
निरन्तर निरन्तर परपर
भीडमा पनि नितान्त एक्लो
तर पनि फिँजाएर राखेको छु
आशाका फूलहरु
सपनाका बिस्कुनहरु

अझै पनि
यो जिन्दगीको घुम्ती बिक्रीमा छ प्रिय !

¬ऋजन मायालु
रोङ — ०३, इलाम