उत्तम विचार 

माला मन्दिरका पवित्र गहना पुज्छन् तिनै देवता
ताजा फूल प्रसाद चन्दनविना पाइन्छ के शुद्धता ।
भारी बोक्न तयार काँध नचिनी डर्छौ परीक्षा दिन
मिथ्या हो उपहार यो विजयको माला भिरेको किन ।।१।

मालाको यदि मान गर्न नसके पाइन्छ के इज्जत
भत्केको घरमा घसी रङ कुनै शोभा नदेओस् छत ।
भ्रष्टाचार गरी लुट्यौ मुलुक यो यस्तो गरेको किन
शोभा किन्तु दिँदैन त्यो मुकुटमा माला भिरेको किन ।।२।

ठान्छौ जित्नु ठूलो भुलेर रणमा उस्तै ठूलो हार हो
भाग्ने कायर हुन् निरन्तर बढौँ गन्तव्य नै सार हो ।
कुर्सीका मदमा भुल्यौ भुलिरह्यौ आफैँ गिरेको किन
जो सौन्दर्य दिँदैन त्यो मफतमा माला भिरेको किन ।।३।

लाखौँ खर्च गरी न फाइदा मिलोस् होला न ता आर्जन
जाओस् ध्यान त्यतै जता मुलुकको देखिन्छ आकर्षण ।
तिम्रा निम्ति करोड मूल्य जनले चर्को तिरेको किन
दाम्लो हैन गलाविषे छ पशुको माला भिरेको किन ।।४।

होला सार्थकता नता सहजता सम्मानको भोकले
घट्ला इज्जत मान मर्दन हुँदा अर्पिन्छ जो लोकले ।
अर्को चोर भनेर सज्जन बन्यौ हो हैन आफैँ चिन
देख्नेले प्रतिप्रश्न गर्नु नपरोस् माला भिरेको किन ।।५।

उत्तम विचार ।
छन्द सूत्र : शार्दूलविक्रीडित ।