४. अङ्गीरा शिथिलताबाट उठेर बर्बराउँछे ।

के मलाई मारेर गएको हो वीरेन्द्र ?
मरेको त ऊ हो
मनुष्यताको हत्या गरेर
प्रकृतिको अनुहारमा दाग दिएर
प्रेमको मिठासमा विष घोलेर
भावना विषमय पिएर पिलाएर
क्षतविक्षत ऊ आफैँदेखि भागेको हो कायर !
गिरेको कस्तो हो अमानुष !

मेरो इन्कारलाई ललकारेर
मेरा अनुनयलाई बहिष्कार गरेर
म स्त्रीको अपमान गरेर
उफ् मलाई माया गर्छु भन्दै छक्याएर…
उफ् मलाई इन्द्रेनी बनाएर
मलाई देवी बनाएर
उसले कुल्चिएर हिँडेको कति दुःखेको ?
मेरो अस्तित्वलाई किचेको कति पोलेको ?

ज्योति जङ्गल

सोच्दासोच्दै ऊ बर्बराई
बोल्दाबोल्दै ऊ फेरि मौन भई
फेरि ब्युँझिई, फेरि बोली

म ब्युँझिएँ
उसले पछारेर छोडेका थर्कानहरुबाट
अनन्य वेदनाहरुले मलाई फेरि जन्माए
पीडाको टेको समाएर म उभिएँ
धुलोको माझबाट अलिकति चिहाएर
मैले राता आँखा हेरेँ ।

सारा अङ्ग दुःखेर मलाई ब्युँझाए
मन अझै कति दुःखेको छ
मनैले घचघच्यायो
हात दुखे यसरी
कि चुँडिन लागेका
अरुका हात हुन् मेरा होइनन्
यी खुट्टा मेरा अब
उभिन सक्ने हुन् होइनन्
कसैले किला गाडेको छ दुई खुट्टाको माझमा
कुन दर्द हो यो ज्यानको
कुन कर्म हो यो मायाको
कुन साहस हो यो मानवताको
कुन कारण हो प्रकृतिकै निरीहताको ।

मन दुख्छ र सोच्छ मरुँ कि बाँचूँ म ?
जिजीविषा औंला उठाउँछ
कसैगरी हुन्न यसरी सोच्नु
बद्ला झर्किन्छ किन म मरुँ ?
अरुले उमारेको यो दुःखसँग डराएर ?
अरुले लल्कारेको अहंमदेखि विरक्तिएर
मेरा पाइला चालु नहुँदै किन रोकौं ?
जीवन सुरू नहुँदै किन हारुँ ?

अब त मैले यतिखेरै हुर्किनु छ
यतिखेरै मेरो उपचार गर्नु छ
जुध्नु छ यो पीडाविरूद्ध
कुर्लिनु छ यो हिंसाप्रति
उठ्नु छ खुस्किन लागेको करङ जोडेर
झर्न लागेका मेरा आँखाका गेडीहरु
आँखाभित्रै ठेलेर ।

मलाई घेरिरहेका
मलाई हेरिरहेको
यावत् सभ्यतालाई प्रश्न गर्नु छ
प्रेमको प्रहसन गरेर
स्नेहको अन्त्य गरेर हिँडेको
उसको हिँडाइलाई रोक्नु छ
हिँडेको होइन भागेको ऊ
अङ्गअधीनस्थ स्वयम्बन्दी ऊ
क्षीण क्षणका निम्ति गिरेको स्वयम्को हत्याविरूद्ध
पकड्नु छ हत्यारा उसलाई
कसुरदार ठहर्याउनु छ
उसलाई सजाय दिनु छ ।

मेरी आमा !
तिम्रो दुःखको अर्को कारण बनेर पनि
मैले तिमीसम्म आउनु छ ।

आजसम्म नदेखेको त खुसी हो तिम्रो अनुहारमा
नभेटेको त उज्यालो हो तिम्रा आँखामा
मलाई नदेखाउन छोपेको
अनुहारको मलिनता र कृतिम मुस्कान
मलाई नदेखाइकन झारेको आँसु
लुकाएर मदेखि एक्लै सहेको पीडामा
थपिदैछ अर्को पीडा
दुःखेको तिम्रो छातीमा राख अब अर्को बज्र ।

जाऊँ त कहाँ जाऊँ अन्त ?
नदेखाउन तिमीलाई यो पीडा
सरकारलाई म भेट्तिनँ
बड्कीगुम्बीको यो सानो घेरामा
सरकार त सरदारको अनुहारमा
क्रोध भएर आउँछ
म थरथर काम्न थाल्छु,
तिनका आँखामा भरिएको राँकोदेखेर
घरिघरि
बाटोमा छेऊ लागेर हिँडेका
बड्का मानिसहरुसँग
मेरो जात अछुत भएर हिँड्छ
फेरि यो जङ्गलमा उनैले
मलाई यसरी लडाएर जान्छन्
मुखमा मुख गाडेर जान्छन् ।

मनमनमा लडाइँ भएर उभिन्छु म
घृणैघृणा त छ बाँचेको गाउँभरि
जताततै दुर्गन्ध आउँछ जातको
बेहोस छ त्यसैले यो गाउँको आत्मा
दूषित छ यहाँको मानस स्वयम् ।

सोधौँ पो कसलाई ?
कसले जन्माएर छोडेको छ यो जातलाई
कसले हालेर गएको छ मानिसलाई
जातको अँध्यारो सुरूङमा ?
कसले बाँडेर गएको छ अभिशाप ?

कसले चिरेर गएको छ
सिङ्गो मानिसलाई हजार चिरामा ?
किन हेरिरहेछ मानिसले
आफ्नो अनुहार जातको ऐनामा ?
कसरी धुन सकिँदैन
यो कालो र चम्किरहेछ आजसम्म ?
प्रश्नको आँधी उठ्छ हरपल
र मलाई हल्लाउँछ
कहाँ बिसाऊँ म यसको बोझ ?
कसलाई बाँडौँ यसको चोट ?

बसौँ पनि कसरी सहेर चुपचाप ?
बटुलेर हत्केलामा यी रक्तमय आँसु ?

आउँछु आमा ! म तिमीसँगै आउँछु
पत्थर बनाउन तिम्रो मुटु
म आफैँ पत्थर भएर आउँछु
पल्टन्छु तिम्रो काखमा र उम्रन्छु आँधी
निभ्छु आँधी
बिसाउँछु तिम्रो काखमा शिर
र उबाउँछु शक्तिको मूल
आउँछु आमा !
म तिमीसँगै आँखा जुधाएर
एकाकार गर्न तिम्रो पीडासँग
झर्न तिम्रा आँसुसँग
सँगै चिच्याउँन हाम्रा चीत्कारसँग
सँगै कुर्लन हाम्रा आवाजसँग ।

अब बिना कसुर
तिमी पनि होऔली अपराधी सरह
दुःखौली मभन्दा धेरै आमा भएर
तर म आँउछु आमा ! तिमीसँगै आँउछु ।