बाबुराम श्रेष्ठ यात्री

समय हतारमा छ
केही उमेर निदाउन मिल्दैन
गाउँ बाँझो छ
सिरुपाते र बनमाराले
रुखो बनाएको छ
बैँस फुल्नु नपाउदै हुलका हुल जवानी
सहर छिरेको छ सुकुम्बासी बन्न

आफ्नै स्वभिमान बेचेर
निम्छरो जिन्दगी घिसारेर
लम्पसार परेको छ
सहरको बिर्तामा
शिर उचाल्छ
असभ्यता प्रदर्शन गर्छ
भन्छ -मार्न र मर्न तयार छौँ

उल्टो हिँड्दै छ मान्छेहरु
पारेर सहर दुर्गन्धित
सभ्यता झुन्डिएर एक कुनामा
लेखाउदै छ मधुरो इतिहास
सुकुम्बासीको नाममा ।