लक्ष्मण थापा

मलिन मनोभाव
दर्पित मस्तक
जीवन वस् ! थोत्रो बैलगाडा सवार !

भीड अघोरै
ढलेको छु भीष्म
कुरुक्षेत्रबीच सरशैयामा !

जीवन समर हो
ए ! समरजँग आफूलाई सम्हालेर जा
दारिद्रय दलन् र जलन् मेलामा !

कालाहारीको थाप्लोमा किलिमन्जारो
झुटको गह्रुँगो खर्पन बोकेर
नालाको फोहर बाटो हिँड्दै सगरमाथा चढ !

कालो कोइला भित्र
कालो अँगारको खेती
झिलमिल गर्दैछ कालो अफ्रिकन मोती !

मड्किलो मार्ग
सुकुम्बासी गीत
सुकुम्बासी मनको कुनामा चम्किलो हेमचुर्ण !

सुदूर सुदिन
पंक्षी पुनीत लोकालय
जीवन सुनौला आभा लिपेर !

अन्धकुपको अभ्यार्थनामा
दीयोहरुले दैलामा टेकेछन्
जूनकिरी नृत्य छ मणिमाणिक्य जुहार !

कालो आकाशमा
चम्किला तारामण्डल
चुकवेष्ठित छ कालो पहाड !

शीत प्रकोपित
शारदीय गंगा
मौन छ उज्जर आँधी !

बन्द मुठी खोल्दा
सघन अँध्यारो बीच चम्केको
काँच हो या हीरा ?

२०७९/०७/०५
पोखरा-६, बैदाम