रवीन्द्र केसी

बृद्ध बाआमालाई
घरबारी निखन्ने आश देखाएर
कोपिलाहरुमा वसन्तको रहर भरेर
प्रियाको आँसुलाई उधारो खुसीले पुछ्दै
सुखद भविश्य खोज्न
म होमिएको तिम्रो यो भव्य सहर
लाग्थ्यो याहँ सबै कुरा छ
आश्रय आधार र आत्मियता छ
सपना संघर्ष र सफलता पनि छ
तर
समयको अन्तरालमा
ती सबै भ्रमहरु टुटेका छन् र रनभुल्ल छन् अनुभूतिहरु
त्यसैले अचेल मलाई लाग्छ
आखिर मृगतृष्णा मात्रै पो रहेछ तिम्रो सहर
जहँ
पौरखी हातहरु बेइलमी भएर कुँजिनु पर्छ
स्वाभिमानी शिरहरु अपमानले लत्रिनु पर्छ
पाइला पाइलामा आत्मसम्मान चोइटिनु पर्छ
समयको अन्तरालमा
अब यसको कलुषित नियत उदाङ्गिएको छ
त्यसैले अचेल मलाई लाग्छ
आखिर मायावी पो रहेछ तिम्रो सहर
जहाँ
वेवारिस जीवन सडकमै अलपत्र बाँच्छन्
उपचार नपाएर कलिला फूलहरु काखमै झर्छन्
फक्रेका जीवनहरु खाडिको मरुभूमि पुगेर सुक्छन्
समयको अन्तरालमा
मानवताहीन यसको मुखुण्डो उत्रिएको छ
त्यसैले अचेल मलाई लाग्छ
आखिर जल्लाद जस्तै पो रहेछ तिम्रो सहर
जहाँ
छोरीहरुकोअस्मितालाई भोकले तर्साउछ
स्कुले केटो झोला फालेर परदेश तिर लाग्छ
छोराको भिषा लिँदाको ऋणले बालाई मार्छ
समयको अन्तरालमा
करुणाहीन यसको चरित्र उदाङ्गिएको छ
त्यसैले अचेल मलाई लाग्छ
आखिर संवेदनाहीन पो रहेछ तिम्रो सहर
जहाँ केवल
स्वार्थ महत्वाकांक्षा र षडयन्त्र छ
यौवन यौन लिप्सा र भोगविलास् छ
खबरदार !
विवशताहरु बिद्रोह बनेर दन्किनु अघि नै
तिम्रो सहरले अब आफैलाई बदल्नु पर्छ
र अब
यही माटोमा पौरख र पसिनाको महिमा हुनु पर्छ
विभेद निषेध र सबै भेदभावहरु दण्डित हुनु पर्छ
समानता समभाव र समन्याय सुनिश्चित हुनु पर्छ
र फेरि कहिले नढल्ने गरी
थिति विधि र व्यवस्था सतिसाल जस्तै उभिनु पर्छ ।