वीरेन्द्र आवेशमा आँउछ र जाइलाग्छ ।

आकाश साक्षी बस्यो
धरती थर्थराइ
रुखहरु मौन उभिए
हरिया पातहरु ठप्प भए
उडी गए अङ्गीराका चीत्कारहरु माथिसम्म
तर ओर्लिएन घाम उसलाई सघाउन
न आवाज गर्यो बतासले
बाफ बनेर उडेका
पानीका धुवाँजस्तै अदृश्यअदृश्य
दूर अनकन्टार हुँदै हराए आवाजहरु
दूबोको शीत सुकेजस्तै सुक्तै गए आँसुहरु ।

एउटा पुरूष अवतरित भयो निर्दयी भएर
अतृप्ति अवतरण भयो जबरजस्त कठोरतामा
कुण्ठाको विद्रुप अनुहार लिएर
एकछिन अघिको माया बद्लिएर
अचेतनबाट अवतरित भयो हिंसा

एउटी प्रेयसीको भरोसामाथि जाइलागेर
अबोध अनुनयको कृतज्ञता लत्याएर
एउटी बालिकाको याचना हत्या भयो
अङ्गीरा धर्धर् च्यातिएर छरिइ
अबोला धरतीमाथि ।
रोहिणी नदी चुपचाप बगिरही
जसरी आदिमकालदेखि बगिरहेकी थिई ।

ज्योति जङ्गल

मनुष्यतामा पोतिएको कालिमाको च्यादर ओडेर
लडिरहेकी अर्धहोसकी अङ्गीरालाई
भुइँमै छोडेर
जुरुक्क उठेर दौडियो गाउँको बाटो वीरेन्द्र ।

चुस्यो र भाग्यो एउटा छल मान्छे
एकछिन अघिको इमानको बाजी
एकछिन अघिको मायाको महिमा
झड्कारेर एक निमेषमा
जुनीभरिको साथको प्रत्याशा
चाटेर र्यालभरि जिब्रोले
उठ्यो एउटा अमानव
हजार जुनीसम्मलाई
धिक्कारको सीत्कार छोडेर ।